INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारकर्मीद्वारा प्रधानमन्त्री कार्यालय अगाडि धर्ना

जेठ १५ गतेदेखि वीर अस्पतालमै आमरण अनसनरत गङगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै मानव अधिकारकर्मीहरूले असार ३ गते प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका छन् ।

गोरखा फुजेलकी अधिकारी आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई सजायको माग गर्दै विगत १९ दिनदेखि वीर अस्पतालमा आमरण अनसनरत हुँदा उनको स्वास्थ्य अवस्था कमजोर भएको जनाइएको छ ।

उनका पति नन्दप्रसाद अधिकारी आमरण अनसनको ३ सय ३४ दिनका दिन वीर अस्पतालमा नै २०७१ असोज ६ गते मृत्यु भएको थियो । उनको शव अहिलेसम्म त्रिविवि शिक्षण अस्पतालमा राखिएको छ ।

गङ्गामायाको बिग्रँदो स्वास्थ्य स्थितिको ख्याल गर्दै उनका माग तत्काल सम्बोधन गर्न दबाव दिन द्वन्द्वपीडित र अधिकारकर्मीले बिहान १० बजे प्रधानमन्त्री निवासअघि धर्ना दिएका हुन् । सर्वोच्च अदालतको फैसला कार्यान्वयन र गङ्गामायाको जीवन रक्षाको माग गर्दै उनीहरूले धर्ना दिएका हुन् ।

केही दिनअघि मानव अधिकार आयोगले पनि सर्वोच्चको फैसला अनुसार पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएका व्यक्तिलाई पक्राउ गरी मुद्दा अघि बढाउन प्रधानमन्त्रीलाई निर्देशन दिएको थियो । आयोगले निर्देशन दिए पनि कार्यान्वयन भएको छैन ।

अनसनको १९ दिन पुगिसक्दा समेत सरकारले सुनुवाइ नगरेको भन्दै मानव अधिकारकर्मीले धर्ना दिएका हुन् । अधिकारीको जीवनरक्षा गर्दै आरोपित व्यक्तिहरूलाई कानुनी कारबाही गर्ने सम्बन्धमा भएको प्रगतिबारे जानकारी गराउन पनि आयोगले भनेको छ । आयोगले त्यसको सम्पूर्ण विवरण तीन दिनभित्र उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई समेत पत्र लेखेको थियो ।

अन्य

भिडियो