INSEC Online

📅 २०८३ जेष्ठ २१

गङ्गामायाको आत्मकथा-‘न्यायको अवसान’ विमोचन

लामो समयदेखि न्यायको माग गर्दै अनसन बसेकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीको आत्मकथा समेटिएको ‘न्यायको अवसान’ नामक पुस्तक असार १ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ ।

Photo20180615Ktm (2)

विमोचन कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले व्यक्ति हत्यालाई राजनीतिक रूप दिए सयौँ गङ्गामायाहरू जन्मने बताए ।

गङ्गामाया न्याय खोजेको विषयमा अदालतले जारी गरेको आदेशको सम्मान गर्न आग्रह गर्दै अध्यक्ष शर्माले प्रधानमन्त्री केपी ओलीले आफूसँगको भेटमा अदालतको आदेशलाई कार्यान्वयन गर्ने बताएकाले गङ्गामायाले न्याय पाउने आशा बाँकी नै रहेको बताए ।

Photo20180615Ktm (1)

गङ्गामायाको लामो सङ्घर्षले गर्दा उनलाई न्यायको बिम्बको रूपमा लिनुपर्ने बताउँदै उनले गङ्गामायाको निरन्तरको सङ्घर्षले मानिस जस्तो अप्ठ्यारोमा पनि आशा लिएर बाँच्छ भन्ने प्रमाणीत भएको बताए ।

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायको अवसान आफैँमा पीडादायी शब्द भएको बताउँदै गङ्गामायालाई व्यक्तिका रूपमा मात्रै नबुझी उनी एउटा ‘बिम्ब’ भएको बताए ।

Photo20180615Ktm (3)

पत्रकार कनकमणी दीक्षितले द्वन्द्वपीडितहरू अहिले जति कहिल्यै एक्लो नभएको बताए । सेना, सबै दल, मिडिया, कर्मचारीतन्त्र एकातिर र पीडितहरू अर्कोतिर भएको अवस्था सिर्जना भएको उनको भनाई छ । गङ्गामायाले गरेको न्याय प्राप्तिको लडाईँ सरकारप्रति नभई राज्यप्रति भएको उनले बताए ।

वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठीले गङ्गामायाको लडाईँ दण्डहीनताविरूद्धको लडाईँ भएको बताउँदै गङ्गामायालाई एउटा संस्थाका रूपमा चित्रण गरे ।

पछिल्लो पटक वीर अस्पतालमा जेठ १५ गतेदेखि आमरण अनसनरत गङ्गामाया स्वास्थ्य समस्याका कारण कार्यक्रममा उपस्थित हुन् सकिनन् । उनले अस्पतालको शैयामै बसेर किताब विमोचन गरेकी थिइन् । सो दृष्य फेसबुक लाइभमार्फत कार्यक्रममा देखाइएको थियो ।

गङ्गामायाले आफ्नै कथा लिखित पुस्तक विमोचन गर्दै आजको पुस्ताले मात्रै होइन भोलिको पुस्ताले पनि मेरो कथा थाह पाओस् भनेर पुस्तक लेखिएको भन्दै पढिदिन आग्रह गरिन् ।

सबै फोटो: विमलचन्द्र शर्मा

अन्य

भिडियो