रामेछापको सदरमुकाम मन्थली नगरपालिका-२ भैसेसुरमा जेठ ३० गते राति प्रहरीको लाठी प्रहारबाट चार जना घाइते भएका छन् । प्रहरीले लाठी चार्ज गर्दा समाचार सङ्कलनमा गएका पत्रकारसहित चार जना घाइते भएका हुन् ।
प्रहरीको लाठीचार्जबाट तामाकोसी ढुवानी सेवा समितिका अध्यक्ष मन्थली नगरपालिका-५ सुनारपानी निवासी २९ वर्षीय नविन कार्की, मन्थली नपा-२ का व्यवसायी ३५ वर्षीय उद्धवकुमार श्रेष्ठ, लिखु तामाकोसी गाउँपालिका-५ नागदह निवारी प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष २६ वर्षीय युनिक विफा घिसिङ र मन्थली नपा-१ का २२ वर्षीय कृष्ण सुवेदी घाइते भएका छन् ।
घाइतेमध्ये कार्कीको आँखामा चोट लागेको छ भने श्रेष्ठको टाउको फुटेको छ । सुवेदीको शरीरका विभिन्न अङ्गमा चोट लागेको छ । पत्रकार घिसिङका दुवै तिघ्रामा चोट छ । घाइतेहरूको तामाकोसी सहकारी अस्पतालमा उपचार गरिएको छ ।
घटनास्थलबाट प्रहरीले सिन्धुली घर भएका डोजरचालक २० वर्षीय गणेश खड्का र सहचालक १९ वर्षीय होमबहादुर प्रधानलाई नियन्त्रणमा लिएको छ । उनीहरू झडप भएको स्थानमा रहेको पार्किङ गर्ने ठाउँमा डोजर थन्क्याउन गएका थिए । नियन्त्रणमा लिएका उनीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएपछि पनि कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
विपीमार्गमा १० टन माथिका मालबहाक र १८ सिट माथिका यात्रुवाहक सवारी साधन तत्कालको लागि सञ्चालन नगर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि गएको जेठ २५ गतेदेखि सिन्धुली प्रशासनले विपीमार्ग हुँदै रामेछाप छिर्ने यातायात साधन सञ्चालनमा रोक लगाएको छ ।
रामेछाप छिर्ने ढुवानीसेवालाई रोक लगाएपनि प्रहरीले सिन्धुलीका व्यवसायीहरूसँग मिलेमतो गरी दोलखा जाने ठूला ढुवानीका साधनलाई रातिराति छाडेको थाहापाएपछि त्यस्ता यातायात साधनलाई रोक्न मन्थलीका व्यवसायीहरू मन्थलीको भैसेसुरमा भेला भएका थिए ।
सो स्थानमा राति ९ बजेसम्म २० वटा भन्दबढी मालबाहक सवारी साधन जम्मा भएपछि प्रहरीले ती साधनहरूलाई गन्तव्यमा पठाउन खोज्दा यातातात साधन गुड्न प्रतिबन्ध लगाउँदा लगाउँदै कसरी ती साधनहरू भित्रिए भनि व्यवसायीहरूले प्रतिवाद गरेका थिए । त्यसपछि प्रहरीले लाठीचार्ज गरेको पीडितहरूको आरोप छ ।
रामेछापका व्यवसायीहरूको यातायात सञ्चालनमा रोक लगाएपनि सिन्धुलीका व्यवसायीहरूसँग प्रहरीले पैसा खाएर रातिराति गाडी छाड्ने गरेको रामेछाप उद्योग वाणिज्य सङ्घका कार्यवहाक अध्यक्ष केशव घिमिरेले जानकारी दिए ।
तराई तथा काठमाडौँबाट रामेछाप छिर्ने वैकल्पिक मार्ग नहुँदा रामेछापको बजारमा दैनिक उपभोग्य तथा निर्माण सामग्रीको चरम अभाव भएको छ ।



