रामेछाप नगरपालिका-१ गोठगाउँकी महिला वडा सदस्य ४६ वर्षीया सृजना श्रेष्ठलाई जेठ २९ गते सोही स्थानका ४८ वर्षीय ठेटकुमार श्रेष्ठ, ४९ वर्षीय युद्धबहादुर कार्की, ४२ वर्षीय सत्यनारायण श्रेष्ठलगायतले हापात गरी लछारपछार गरेको आरोपमा प्रहरीमा उजुरी गरिएको छ ।
फागुन महिनामा सो ठाउँको गैरीपाखा सामुदायिक बनको पँधेरामाथिको रूख काटेपछि ठेटकुमारलाई कारबाही गर्न सामुदायिक वन उपभोक्ता समितिले जिल्ला वन कार्यालयमा सिफारिस गरेको थियो ।
जिल्ला वन अधिकृत शम्भुप्रसाद तिवारीले वन मन्त्रालयको आदेश भन्दै सो विवाद मिलाउन उपभोक्ता समितिलाई जिम्मेवारी दिएका थिए । उपभोक्ता समितिको बैठक बस्ने क्रममा श्रेष्ठले वडासदस्यलाई वन कार्यालयलाई सिफारिस गरेको फाइल च्यात्न भनेपछि विवाद सिर्जना भएको थियो ।
प्रत्यक्षदर्शी सनबहादुर श्रेष्ठका अनुसार ठेटकुमार श्रेष्ठले वडा सदस्य सृजना श्रेष्ठको घरमै गएर गाली बेइज्जती गर्दै रजिष्टर खोसेर ल्याएर च्यात्न खोजेका थिए । सोही क्रममा उनीहरूले वडा सदस्य माथि हातपात गर्दा श्रेष्ठ सामान्य घाइते समेत भएकी छिन् ।
दोषीलाई कारी गरिपाउँ भन्दै पीडितले प्रहरी चौकी साँघुटारमा निवेदन दर्ता गराएकी छिन् । तर, आरोपितमाथि कारबाही नभएको पीडित पक्षले जनाएको छ ।