INSEC Online

📅 २०८३ जेष्ठ २१

जनकपुर अञ्चल अस्पतालका मेसुलाई मोसो दलेर दुर्व्यवहार

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिडेण्ट ५५ वर्षीय डा. रामपरीक्षण यादवलाई मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा तीन जना गिरफ्तारीमा परेका छन् ।

मेसु यादवलाई मोसो दलेको आरोपमा जनकपुर उमनपा-१४ का २५ वर्षीय अखिल मठी, जनकपुर-१३ का २२ वर्षीय विपीन साह र जनकपुर-८ का २३ वर्षीय अमित ठाकुरलाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द थपलियाले बताए ।

मेसु यादवलाई जनकपुरका युवाहरूले जेठ २७ गते कार्यालयमै मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

जनकपुर अञ्चल अस्पतालमा पटकपटक चिकित्सकको लापारवाहीले सर्वसाधारणको ज्यान गइरहेको भन्दै सेवा सुधारका लागि तरुण दल, नेविसंघ, विद्यार्थी युनियन, नयाँ शक्ति नेपाल र स्थानीय युवाहरूको समूह जेठ २७ गते मेसुलाई ज्ञापन पत्र बुझाउन पुगेको थियो ।

पीडितले प्रहरीमा उजुरी दिएका छैनन् । दुई दिनअघि मात्र जनकपुर अञ्चल अस्पतालमा सुत्केरी हुन पुगेकी जनकपुर उमनपा-१ की २५ वर्षीया सोनिया ठाकुरको मृत्यु चिकित्सकको लापारवाहीबाट भएको उनीहरूको आरोप छ ।

घटना पश्चात डा. रामनरेश पण्डितको संयोजकत्वमा ११ सदस्य छानविन टोली गठन भएपछि पीडित परिवारले शव उठाएका थिए ।

अन्य

भिडियो