लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँका ४० वर्षीय खेटराज घिमिरेलाई जेठ २० गते सोही गाउँपालिका-२ सैपुका ६५ वर्षीय मेघनाथ पौडेलले किनेर लगेको गाई फिर्ता गरेको भन्दै नाङ्गेझार बनाएको घटना चार दिनपछि सार्वजनिक भएको छ ।
घिमिरेले ०७४ सालको फागुन महिनामा पौडेलको घरबाट गाई किनेर लगेका थिए । उधारोमा गाई लगेका घिमिरेले भूकम्पको लाभग्राहीको दोस्रो किस्ता रकम आएपछि पैसा तिर्ने भाखा राखेका थिए ।
भूकम्पको पैसा निकासामा ढिलाई भएपछि पौडेलले तत्काल पैसा दिनुपर्ने भन्दै दबाव दिएपछि घिमिरेले गाई नै फिर्ता लिएर गएका थिए ।
गाई फिर्ता लिएर पौडेलको घरमा पुगेका घिमिरेलाई पौडेलले अन्य सहयोगीहरूको सहयोगमा कुटपिट गरी लुगा च्यातेर नाङ्गेझार बनाएका थिए । उनी करिब एक घण्टाको बाटो नाङ्गै भागेर घर पुगेका थिए ।
घटनापछि पीडितले सोही दिन वडा कार्यालय दुराउँमा निवेदन दिएकोमा जेठ २२ गते वडा कार्यालायमा मेलमिलापकर्ताहरू बसी छलफल भएको थियो । त्यहाँ समस्या समाधान नभएपछि जेठ २३ गतेमात्र घटना सार्वजनिक भएको हो ।