शम्भुनाथ नपा–३ की ४० वर्षीया कुसुमदेवी चौधरी पाण्डेको हत्या आरोपमा उनका पति ४५ वर्षीय महेश पाण्डेलाई जिल्ला अदालतले जेठ २३ गते जन्मकैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतको आदेशले ओखलको फलामे मुस्लोले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा आरोपितलाई जन्मकैद सजायको फैसला गरेको हो । जिल्ला अदालतको आदेशमा आरोपित पुस १२ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
घरायसी विषयमा वादविवाद हुँदा आरोपितले ०७४ मङ्सिर १ गते ओखलको फलामे मुस्लोले टाउकोमा प्रहार गरी गम्भिर घाइते बनाएका थिए ।
निधारमा गहिरो चोट लागी गम्भीर घाइते कुसुमदेवीको उपचार राजविराजमा हुन नसकेपछि उपचारको लागी कोशी अञ्चल अस्पताल विराटनगर भर्ना गरिएकोमा मङ्सिर १० गते मृत्यु भएको थियो ।
मृतककी छोरी कविता पाण्डेले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर १० गते आरोपितविरूद्ध उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयले आरोपितलाई मङ्सिर ११ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो ।