बोदे बरसाइन नपा-३ गौराकी ४० वर्षीया ललीतादेवी यादवको हत्या गरेको कसुरमा उनका ४२ वर्षीय पति जयप्रकाश यादवलाई जिल्ला अदालतले जेठ २१ गते सर्वस्वसहित जन्मकैद सजायको फैसला गरेको छ ।
न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले आरोपितलाई सर्वस्वसहित जन्मकैद सजायको फैसला गरेको अदालतले जनाएको छ । उनी ०७४ मङ्सिर २५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका छन् ।
बोदे बरसाइन नपा-३ स्थित जोगेन्द्र गोडाहाङ्ग यादवको खेतमा कात्तिक २८ गते बिहान धान काट्न गएकी ललीताको हातबाट खोसेको हँसियाले घाँटी रेटेर जयप्रकाशले पत्नीको हत्या गरेका थिए । हत्यापछि भागेर घर पुगेका आरोपितलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले कात्तिक २८ गते नै गिरफ्तार गरेको थियो ।
आरोपितले घाँटी रेटेर पीडितको टाउको अलग गरिदिएको भन्दै पीडितकै ससुरा नन्कु यादवले इलाका प्रहरी कार्यालय कल्याणपुरमा दिएको उजुरी सोही दिन दर्ता भएको थियो । शवको पोष्टमार्टम सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा ०७४ कात्तिक २८ गते गरिएको थियो ।
०७४ कात्तिक ९ गते समेत आरोपितले खुकुरी प्रहार गरी पत्नीलाई घाइते बनाएको र केही दिनदेखि पति-पत्नीबिच पारिवारिक कलह र विवाद भइरहेको छिमेकीहरूले बताएका थिए ।