नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको एक समूहले पञ्चदेवल-विनायक नगरपालिका-३ मा रहेको विद्यामन्दिर माविका प्रधानाध्यापक विरबहादुर शाहीलाई विद्यालय समयमा जेठ २२ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् ।
विद्यालयले आफ्ना मागहरू पुरा नगरेको भन्दै बिहान १० बजे प्रधानाध्यापक शाहीकै कार्यकक्षमा गएर अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले मोसो दलेको नेपाल शिक्षक सङ्घ अछामका पूर्व अध्यक्ष पदमराज अधिकारीले जानकारी दिए ।
मोसो दल्ने व्यक्तिहरूलाई तत्काल गिरफ्तार गरी कानुनी कारबाही गर्न जिल्लामा कार्यरत शिक्षकहरूले माग गरेका छन् । प्रक्रियागत रूपमा आफ्ना मागहरू राख्न पाउने व्यवस्था भएपनि स्वतन्त्र तथा मर्यादित रूपमा बाँच्न पाउने अधिकारमा ठाडो हस्तक्षेप भएको पुर्व अध्यक्ष अधिकारीको भनाइ छ ।
प्रधानाध्यापक शाही शिक्षक महासङ्घ पञ्चदेवल-विनायक नगर समिति अध्यक्ष समेत हुन् । उक्त घटनाका कारण विद्यालयमा शिक्षण कार्य प्रभावित बनेको छ भने अन्य शिक्षकहरू समेत त्रसित भएका छन् ।
शुल्क बृद्धि फिर्ता गर्नु पर्ने र विद्यालयको अनियमितताको छानविन गर्नु पर्ने माग राखी अखिल क्रान्तिकारीले गत साता उक्त विद्यालयमा दुई दिनसम्म तालाबन्दी समेत गरेको थियो ।