INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

हरिनगर गाउँपालिका-४ की २२ वर्षीया बबिता मेहतालाई कथित बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ । बोक्सीको आरोप लगाँउदै परिवारका सदस्यले जेठ १९ गते कुटपिट गरेको पीडितले बताइन् ।

स्थानीय बागेश्वरी मन्दिरमा पुजापाठ गरे आफ्नी अढाई वर्षीया अबोक छोरीको बोली आउने भनेर छिमेकीले दिएको सल्लाह अनुसार मन्दिरमा पुजापाठ गरेपछि परिवारका सदस्यले बोक्सीले भाकल राख्दै पुजा गर्छन्, तिमि पनि त बोक्सी भयौ भन्दै कुटपिट गरेको पीडितले बताइन् ।

परिवारका सदस्य २५ वर्षीय देवर श्रवण, २७ वर्षीय प्रकाश, २२ वर्षीय रञ्जित र ३३ वर्षीय अमरलाल मेहताले संयुक्त रूपमा लात्ति, लाठी र मुक्काले जथाभावी कुटपिट गरेको पीडितले बताइन् ।

पीडितका काका दिपनारायण मेहताले भतिजिलाई डायन बोक्सी भनी निर्घात कुटपिट गरेको बताए । उनले ज्यान मार्ने योजना सहित निर्घात कुटपिट भएको बताए ।

घटना कुटपिटको भएको तर बोक्सीको नभएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए । घटनामा संलग्नहरूलाई जेठ १९ गते गिरफ्तार गरेर अनुसन्धान थालेको डिएसपी चिमोरियाले बताए ।

टाउको र कान सुन्निएको तथा शरीरका विभिन्न भागमा निलडाम भएकी पीडितको इनरूवा अस्पतालमा जेठ १९ गतेदेखि उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकहरूले शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले उपचारका लागि एक हप्ताको समय लाग्ने बताएका छन् ।

अन्य

भिडियो