INSEC Online

📅 २०८३ जेष्ठ २१

नौ महिनासम्म पनि गुनासो सम्बोधन नभएको भुकम्प पीडितहरूको गुनासो

वास्तविक भूकम्प पीडित भएर पनि लाभग्राही सूचीमा नाम समावेश नभएको भन्दै गुनासो फर्म भरेकाहरूको गुनासो नौ महिना बित्दा समेत सम्बोधन हुनसकेको छैन । लाभाग्राही सूचीमा नाम समावेश नभएको भन्दै जिल्लाका १२ हजार ३ सय २२ जना भुकम्प पीडितले गुनासो फर्म भरेका छन् ।

गत वर्षको भदौ पहिलो सातादेखि कात्तिक मसान्तसम्म गुनासो फर्म भरेका भुकम्प पीडितहरूको पुनः जाँच तथा छुट सर्वेक्षण भएको थियो । ‘गुनासो फर्म भरेपछि नाम आउँछकी भन्ने आश हुँदो रहेछ ।’-आरूघाट गाउँपालिका स्थित आर्खेतकी टिकादेवी मुटवरीले भनिन् ।

प्राविधिकहरूले गुनासो फर्म भरेकाहरूको घरघरमै पुगेर घरको तस्वीर लिएर गएका छन् । गुनासो फर्म भरेकाहरूको फाइल पुनर्निर्माण प्राधिकरणको केन्द्रमा पुगेर रोकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यालयले जनाएको छ ।

गुनासो फर्म भरेकाहरूको सर्वेक्षण भएपछि पनि जिल्लाका थप २ हजार २ सय ६२ जना पीडितले आफूहरूको नाम छुट भएको भन्दै पुनः निवेदन दिएका छन् । लाभग्राही सूचीमा नाम समावेश भएकाहरूले धमाधम घर बनाइरहँदा छुट भएका भुकम्प पीडित भने अलमलमा परेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालयका सुब्बा शिव पौडेलका अनुसार गुनासो सम्बोधन अन्तिम चरणमा पुगेको छ । पौडेलले केही दिनमै गुनासो फर्म भरेकाहरूको सम्बोधन गरिने बताए ।

अन्य

भिडियो