INSEC Online

📅 २०८३ जेष्ठ २१

महिलाको पाठेघर झुक्याएर झिकिदिएको आरोपमा प्रहरीमा उजुरी

बर्दिवासस्थित एक निजी अस्पतालले पाठेघरमा क्यान्सरको खतरा रहेको भन्दै झुक्याएर एक महिलाको पाठेघर काटेर फालिदिएको छ ।

बर्दिवास नगरपालिका स्थित डि.एन.बी मेडीकेयर सेन्टर प्रा.लि.ले सिन्धुली कमलामाई नगरपालिका–१० भिमान निवासी २९ वर्षीया तोपकुमारी खड्काको पाठेघर बिना कारण रोग देखाई झुक्याएर शल्यक्रिया गरी निकालिदिएको आफन्तले आरोप लगाएका छन् ।

घटना जेठ १५ गते भएपनि बिरामीका आफन्त कानुनी उपचार खोज्दै इलाका प्रहरी कार्यालय बर्दिवास पुगेपछि घटना सार्वजनिक भएको हो । पाठेघरबाट सामान्य रक्तश्राव हुन थालेपछि उपचार गर्न आफूहरू उक्त अस्पताल पुगेको पीडित महिलाका पति शेषबहादुर खड्काले बताए ।

उक्त मेडीकेयरमा सञ्चालन भइरहेको स्वास्थ्य शिविरमा जाँच गराउँदा तोपकुमारी खड्काको पाठेघरमा क्यान्सर भएको र नझिके ज्यानै जान सक्ने भन्दै शल्यक्रिया गरेको शेषबहादुर खड्काले बताए ।

उक्त अस्पतालका चिकित्सकले मेडिकल रिपोर्ट वा कुनै परीक्षण बिना क्यान्सर भन्दै झुक्याएर शल्यक्रिया गरेको आरोप पीडित पक्षको छ । महिलाका आफन्तका अनुसार अस्पतालका डाक्टरले त्यही दिन भर्ना गरेर त्यही दिन पाठेघर निकालिदिएका थिए । विगत केही दिनदेखि पाठेघरबाट सामान्य रक्तश्राव भैरहेको भन्दै ती महिला उपचारका लागि उक्त अस्पताल पुगेकी थिइन् ।

पीडित महिलाका आफन्तहरूले शल्यक्रियामा संग्लन चिकित्सकको नाम दिन पटकपटक आग्रह गर्दा समेत आनाकानी गरेपछि बिनाकारण पाठेघर निकालेर फालेको घटना सार्वजनिक भएको हो । घटना पछि जेठ १८ गते महिलाका आफन्तले इलाका प्रहरी कार्यालय बर्दिवास र बर्दिवास नगरपालिकामा लिखित उजुरी दर्ता गराएका छन् ।

बिना दर्ता रहेको भारतीय चिकित्सकले आफ्नी पत्नीको पाठेघर निकालेर फ्याँकेको र आफूहरूले सोधीखोजी गर्न थालेपछि मेडिकेयरले चिकित्सक भगाएको पीडित पक्षको आरोप छ ।

घटनाका सम्बन्धमा बर्दिवास नगरपालिकाको न्यायिक समितिले छानबिन सुरू गरेको छ । स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नती मापदण्डसम्बन्धी निर्देशिका अनुसार उक्त मेडिकेयरले मापदण्ड अनुसार कुनै प्रकारको शल्यक्रिया गर्न नपाउने उल्लेख छ । नियम मिचेर उक्त मेडिकेयरले महिलाको पाठेघर निकालिदिएको बताइएको छ ।

यसैबिच उक्त मेडिकेयरको मापदण्ड विपरीत रहेको र घटनाको सम्बन्धमा बर्दिवास नगरपालिकाले छानविन अगाडि बढाएको छ । पाठेघरको उपचार गर्दा दबावमा परेर वा कमाउने भन्दै निजी स्वास्थ्य संस्थाहरूले पाठेघरको अनावश्यक शल्यक्रिया गर्ने गरेका छन् । चिकित्सकको लापरवाहीले घटना घटेको आरोप लगाउँदै घटनाको छानबिन गरी दोषिमाथी कारबाही हुनुपर्ने पीडित महिलाका पतिले बताए ।

अन्य

भिडियो