जिल्लाको सुख्खा क्षेत्र मानिने पलाता गाउँपालिकामा खाद्यान्न सङ्कट भएको छ । यस वर्षको गहुँ र जौ बाली खडेरी र असिनापानीले सखाप पारेपछि स्थानीय खाद्यान्न सङ्कटमा परेका हुन् ।
पलाता क्षेत्रका १ हजार ९ सय ४३ घरधुरीका ११ हजार ७ सय व्यक्ति खाद्यान्न सङ्कटबाट प्रभावित भएका हुन् । पलाता धौलागोह, खिन, थिर्पूलगायतका गाउँमा खाद्यान्न सङ्कट भएपछि पेट पाल्नका लागि केही घरका परिवारसहित भारतमा मजदुरी गर्न गएको स्थानीय जयविर बिकले बताए ।
पलाता क्षेत्रमा पाकेर काट्ने बेला भएको गहुँ ०७४ चैत २७ गतेको असिनापानीले सोत्तर पारेपछि खाद्यान्न सङ्कट भएको हो । पलाता क्षेत्रका खाद्यान्न सङ्कट समाधानका लागि ५ हजार ४९ क्वीन्टल ८० केजी चामल आवश्यक पर्ने भएपनि थिर्पू खाद्यान्न डिपो खाली रहेको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए ।
कालिकोट जिल्लाका विभिन्न स्थानमा असिनापानीले २ करोड ६४ लाख रुपियाँको तरकारी, फलफूल र अन्नबाली नष्ट भएको थियो । चैत २७ गते बेलुकी हावाहुरीसहित परेको असिनाले तरकारी, फलफूल, गहुँ र जौ बाली नष्ट गरेको हो । जिल्लाका दुई नगरसहित तीन गाउँपालिकामा २ करोड ६४ लाख ६७ हजार ३ सय ३४ रुपियाँको बाली असिनाका कारण क्षति भएको छ ।
खाडाचक्र र रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकामा कृषि प्राविधिकको नेतृत्वमा राजनीतिक दल र संचारकर्मीसहित खटाएर क्षतिको विवरण सङ्कलन गरेर राहतका लागि सरकारलाई सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बताए ।
‘असिनाले सबैभन्दा बढी रास्कोट नगरपालिकामा ६५ लाख ३५ हजार, खाँडाचक्र नगरपालिकामा ४३ लाख ७८ हजार, नरहरिनाथ गाउँपालिकामा ३२ लाख २ हजार, शुभकालिकामा १२ लाख १२ हजार र सान्नीत्रिवेणी गाउँपालिकामा १ करोड ११ लाख ३९ हजारको क्षति भएको विवरण आएको छ ।’-उनले भने-‘रास्कोट नगरपालिकाले सुरूमा ९ करोडको तरकारी र फलफूल, ३ करोडको खाद्यबाली गरी १२ करोडको क्षति पुर्याएको विवरण आएको थियो ।’
असिनापानीले ५८ लाख ४७ हजार मूल्यको तरकारी, ६६ लाख ९ हजार मूल्यको फलफूल, १ करोड ३० लाखको गहुँ र ३५ लाख १२ हजार रुपियाँको जौ बाली नष्ट भएको छ ।
असिनाले नरहरिनाथका कोटबाडा, कुमालगाउँ, रुप्सालालु तथा माल्कोट, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाका केही वडामा असिनाले गहुँ, जौ, मसुरो र तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।