INSEC Online

📅 २०८३ जेष्ठ २१

गैरकानुनी रूपमा रुकुम पुर्‍याइएका जुम्लाका बालबालिकाको उद्धार

गैरकानुनी रूपमा पश्चिम रुकुम जिल्ला पुर्‍याइएका जुम्लाका २४ जना बालबालिका एक अवैध बालगृहबाट जेठ १२ गते उद्धार गरिएको छ । महिला तथा बालबालिका कार्यालय, जुम्लाबाट गएका बाल संरक्षक निरीक्षक हर्क महतसहितको टोलीले ति बालबालिकाको उद्धार गरेको हो ।

गत वैशाख ५ गतेदेखि १० गतेसम्म चरणबद्ध रूपमा पातारासी गाँउपालिका-१ र २ बाट २४ जना बालबालिका रुकुम पुर्‍याइएको थियो ।

अभिभावकलाई झुक्याएर वडाको सिफारिसमा आमा, बाबा नभएको झुठा कागज बनाई रुकुमको एक बालगृहमा पुगेका ति बालबालिका जोखिम अवस्थामा फेला परेपछि बालबालिकालाई उद्धार गरिएको हो ।

झुठा कागज बनाई अनाथालयमा पढाउने भन्दै पातारासी गाउँपालिका-१ गडीगाउँका २० र वडा नं. २ पेरोगाउँका चार जना बालबालिकालाई रुकुमको नरसिंह बालगृहमा पुर्‍याइएपछि ति बालबालिकाको अवस्था जोखिम रहेको खबर महिला तथा बालबालिका कार्यालय रुकुमका बाल अधिकार अधिकृत मानविर ओलीले बताएका थिए ।

त्यसपछि जुम्ला र रुकुमका सबै सरोकारवाला निकायसँग छलफल र समन्वय गरी बालबालिका फिर्ता ल्याउने कामको पहल भएको थियो । आठ वर्षदेखि १२ वर्षउमेर समूहका नौ जना बालिका र १५ जना बालकलाई जेठ १२ गते जिल्ला बाल कल्याण समिति र मुसिकोट नगरपालिका रुकुमको पहलमा बालगृहबाट उद्धार गरी जुम्ला फर्काएको छ ।

रुकुममा भएको एक औपचारिक कार्यक्रम बिच उद्धार गरिएका सबै बालबालिकालाई पारिवारिक पुनर्स्थापना गराउन जुम्लाका बाल संरक्षण निरीक्षक हर्क महतलाई जिम्मा लगाइएको हो ।

उनले दुई दिनभित्र आफूहरू जुम्ला पुग्ने र त्यसपछि पत्रकार सम्मेलन गरी बालबालिकालाई उनीहरूका आफन्त/अभिभावकलाई जिम्मा लगाउने बाल संरक्षक निरीक्षक महतले बताए । बालबालिकालाई रुकुमबाट जुम्ला पुर्‍याउने सबै खर्च महिला तथा बालबालिका कार्यालय जुम्लाले जुटाउने भएको छ भने रुकुम बालकल्याण समितिले ५ हजार खाजा स्वरुप प्रदान गरेको छ ।

बालगृह सञ्चालक र बालबालिका ओसारपोसारमा संलग्नमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानपछि बालबालिका तस्करीमा संलग्न सबै माथि कारबाही हुने जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी डा. तपनकुमार दाहालले बताए । बालबालिका ओसारपसार गर्ने आरोपित भने प्रहरीले नियन्त्रणमा लिएको छैन ।

अभिभावकको दबावमा सिफारिस

अविभावकको दबावमा अनाथ, असहाय भनेर पातारासी गाउँपालिका-१ र २ वडा कार्यालयले सिफारिस दिएको छ । अभिभावकहरूको दबावका कारण सिफारिस गर्न बाध्य भएको भन्दै उनीहरूलाई अनाथको नाममा सिफारिस नदिएको वडा नम्बर २ का अध्यक्ष कन्न बोहराको दावी छ ।

सबै गाउँलेले एकमुष्ट आवाज निकालेपछि बालबालिकाको शिक्षामा राम्रो होला भनेर सिफारिस दिएको वडा नम्बर १ का अध्यक्ष दत्तबहादुर बुढाको भनाई छ । दुवै वडा अध्यक्षले आफूहरूलाई समेत झुक्याएर गाउँलेले वडाबाट सिफारिस लिएको दावी गरेका छन् ।

अन्य

भिडियो