धनगढीमाई नपा-२ का ५५ वर्षीय श्यामसुन्दर सदायलाई जातीय छुवाछुत तथा भेदभाव गरेको कसुरमा जिल्ला अदालतले जेठ ८ गते १ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश सुर्दशनराज पाण्डेको इजलाशले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए । मुस्लिम युवासँग प्रेम विवाह गरी गर्भ बोकेको भन्दै श्यामसुन्दरले गाँउलेको नेतृत्व गरी धनगढीमाई नपा-२ की १८ वर्षीया रमिता सदायलाई ०७४ असोज ८ गते सामाजिक बहिष्कार गरेका थिए ।
गाँउलेको नेतृत्व गरी रमितालाई घरमै नजरबन्दमा राखेको भन्दै मानव अधिकार संरक्षण केन्द्र लहानले श्यामसुन्दरविरूद्घ असोज १२ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी हालेको थियो ।
सोही दिन प्रहरीको गिरफ्तारीमा परेका सदायलाई जिल्ला अदालतले कार्तिक १ गते २० हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो । यसअघि सो घटनाको अनुगमन असोज ११ गते राष्ट्रिय मानव अधिकार आयोग जनकपुरसहित सिरहाका अधिकारकर्मीहरूले गरेका थिए ।