स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्षपुरा हुनैलाग्दा पनि कैलालीको विकट मोहुन्याल गाउँपालिकामा कर्मचारी व्यवस्थापन र कार्यालय स्थापना हुन सकेको छैन ।
साविक मोहन्याल, पण्डौन र सुगरखाल गाविस मिलेर बनेको महोन्याल गाउँपालिकामा २४ जना कर्मचारी आवश्यक भए पनि सरकारले कर्मचारी नपठाउँदा तीन जना कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नु परेकोले सेवाग्राहीहरू मर्कामा परेका हुन ।
तीन जनाले मात्रै सात वटा वडा कार्यालयको काम गर्नु परेकोले सेवाग्राहीलाई समयमा सेवा दिन नसकेको मोहुन्याल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझाले बताए । उनले भने-‘कर्मचारी नहुँदा एक जना वडा सचिवले वडा नं १ देखि ५ सम्मको काम गर्दै आएका छन् ।’
पर्याप्त कर्मचारी नहुँदा गाउँपालिकाले प्रदान गर्ने सेवाहरू जन्म दर्ता, विवाह दर्ता, विभिन्न प्रकारका सिफारिस र नागरिकतासम्बन्धी कार्यहरू सहज रूपमा नपाएको स्थानीयले गुनासो गरेका छन् । पहिले गाविसमा एकदिनमा सकिने कामको लागि आफूहरूले हप्ता दिनसम्म पनि दौडधुप गर्नु परेको स्थानीयबासी हरि जोशीले गुनासो गरे ।
गाउँपालिकाको कार्यालय स्थापनासमेत हुन नसकेकोले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग कार्यालय स्थापना तथा कर्मचारी पठाउन पटकपटक माग गर्दै आएको भए पनि मन्त्रालयले अझै चासो नदिएका कारण सेवाग्राहीहरूलाई छिटोछरितो रूपमा सेवा दिन नसकिएको गाउँपालिका प्रमुख नवलसिंह रावलले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख सुर्यबहादुर थापाले अपुग कर्मचारी चाँडै पठाउने तयारी भइरहेको र असार मसान्तसम्म कार्यालय स्थापना पनि गरिने बताए ।