INSEC Online

📅 २०८३ जेष्ठ २१

गुल्मीका ४३ वडामा सचिविहीन, जनप्रतिनिधि र नागरिकलाई सास्ती

स्थानीय तह कार्यान्वयन भएको १५ महिना भइसक्यो । ती स्थानीय तहमा जनप्रतिनिधि आएको पनि एक वर्षभयो । तर, गुल्मीका स्थानीय तहका ९३ वडा मध्ये ४३ वडा सचिवविहीन भएपछि नागरिक र जनप्रतिनिधि दुवै समस्यामा परेका छ्न ।

दुई नगरपालिकासहित १० गाउँपालिका रहेको गुल्मीमा ४२ वटा वडा सचिवविहीन अवस्थामा रहेका छन् । वडाको कामकाजकै प्रमुखव्यक्ति नभएपछि कार्यालय व्यवस्थापन र सेवा प्रवाहमा मुस्किल पर्दै जान थालेको जनप्रतिनिधिहरूले बताउँछन् ।

जिल्लामा भएका केही कर्मचारीलाई व्यवस्थापन गरिएको भएपनि अधिकांश स्थानीय तहमा कर्मचारी अभावले समस्या रहेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताए ।

‘जिल्लामा आएका कर्मचारीलाई स्थानीय तहको अवस्थाका आधारमा व्यवस्थापन गर्ने गरेका छौँ ।’-पराजुलीले भने-‘तर, जिल्लामै सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा स्थानीय तहमा समस्या देखिएको हो ।’ जिल्लाको चन्द्रकोट गाउँपालिकामा सबैभन्दा बढी कर्मचारी अभाव छ । आठ वडामा दुई सचिवको भरमा काम गर्नु परेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत कृष्णप्रसाद भण्डारीका अनुसार आठ वडामा दुई सचिवले काम गरिरहेको बताए । ‘यो बिडम्बनाले गाउँ सिंहदरबार कहिले बन्छ ?’-उनले भने-‘वडा सचिवको मात्रै होइन अरू कर्मचारीको अवस्था पनि उस्तै छ ।’

जिल्ला समन्वय समितिमा पटकपटक जानकारी गराएको भएपनि जिल्लामै मन्त्रालयले कर्मचारी नपठाएपछि गाउँमा माग्न गाह्रो परेको उनले बताए । रेसुङ्गा नगरपालिका र मदाने गाउँपालिकामा बाहेक अन्य कुनै पनि स्थानीय तहका सबै वडामा सबै सचिव छैनन् ।

कतिपय स्थानमा एकजना सचिवले तीन वडा समेत हेदै आएका छन् । गाउँपालिकामा सचिवलाई दुईदेखि तीन वटा वडाको जिम्मेवारी भएकाले नागरिकले पालो कुर्नु पर्ने अवस्था रहेको मालिका गाउँपालिका-८ का कमल नेपालीले बताए ।

अन्य

भिडियो