खार्पुनाथ गाउँपालिकाले १२ वटा शिक्षा कार्य विधिको कानुन निर्माण गरेको छ । गाउँपालिकाले १२ वटा कानुन निर्माण गरी गाउँसभाबाट पारित गरेको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।
अध्यक्ष रावलका अनुसार यसअघि बनाएर कार्यान्वयनमा ल्याएको शिक्षा कार्यविधि केही संशोधनसहित पारित गरिएको छ ।
त्यस्तै विद्यालय खोल्ने अनुमति र स्विकृतीसम्बन्धी ऐन, दरबन्दी मिलान गर्न सकिने, अवस्था हेरेर विद्यालयहरू मर्ज गर्न सकिने, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतको काम कर्तव्य तथा अधिकार, गाउँ शिक्षा समितिको काम कर्तव्य र अधिकार, विद्यालय व्यवस्थापन समितिसम्बन्धी व्यवस्था, पाठ्यक्रम तथा परीक्षा सञ्चालन र समन्वय, प्रारम्भिक बालविकाससम्बन्धी व्यवस्था, विद्यार्थी सङ्ख्या, भर्ना र कक्षा बढाउने व्यवस्था, प्रधानाध्यापक र शिक्षक नियुक्तिको व्यवस्था, छात्रवृत्ति तथा निशुल्क शिक्षाको व्यवस्थालगायत छन् ।
अघि सो गाउँ कार्यपालिकाको ऐनहरू नबन्दा गाउँपालिकालाई कार्यसम्पादन गर्न समस्या भएको थियो । ऐनहरू बनेपछि कार्यसम्पादन गर्न थप सहजता हुने रावलले बताए ।