मन्थली नगरपालिकाले ११ वटा कानुन निर्माण गरेको छ । नगरपालिकाले ११ वटा कानुन निर्माण गरी नगरसभबाट पारित गरेको मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले जानकारी दिइन् ।
कार्कीका अनुसार यसअघि बनाएर कार्यान्वयनमा ल्याएको न्यायिक समितिको कार्यविधि केही संशोधनसहित पारित गरिएको छ । सोही कार्यविधिमा रहेर नगरपालिकाले न्याय सम्पादनको काम गर्ने छ ।
यसैगरी छापाखाना तथा रेडियो सञ्चालन तथा अनुगमन कार्यविधि नियमावली, सहकारी ऐन, आधारभूत तथा माध्यामिक शिक्षा ऐन, स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन, कार्यपालिकाको निर्णय, आदेश, अधिकार प्रत्यायोजन सम्बन्धि ऐन, समानिकरण कार्यविधि नियमावली, संस्थागत ऐन, पदाधिकारी आचारसंहिता ऐन, बजार अनुगमन निर्देशिका, नगर प्रहरी नियमावली र स्थानीय राजपत्र प्रकाशन कार्यविधि पनि नगरसभाले पारित गरेको कार्कीले बताइन् ।
यसअघि नगरपालिकाका ऐनहरू नबन्दा नगरपालिकालाई कार्यसम्पादन गर्न समस्या थियो । ऐनहरू बनेपछि कार्यसम्पादन गर्न थप सहजता हुने कार्कीले बताइन् ।