INSEC Online

📅 २०८३ जेष्ठ २१

समयमा काम सम्पन्न नहुँदा गन्धर्वहरूको बिचल्ली

दुई वर्षअघि सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमले नयाँ घर बनाइदिने भनेपछि हर्षित बनेका रोल्पा सुवर्णावती गाउँपालिका-१ घोडागाउँका गन्धर्व परिवारहरू अहिले पनि बिचल्लीमा नै छन् ।

अति विपन्न गन्धर्व परिवारका लागि जनता आवास कार्यक्रमले नयाँ घर बनाइदिने भनेपछि भएका सानातिना छाप्रो पनि भत्काएका गन्धर्व परिवारहरू बस्ने बास नभएर अहिले थप बिचल्लीमा परेका हुन् ।

नयाँ घर निर्माण कार्य सुरू गरेको केही समयमा निर्माणको जिम्मा पाएका ठेकेदार बिचैमा काम छोडेर गएपछि अहिले आफूहरू अरुको घरमा बास बस्न जानु परेको कृष्णी गन्धर्वको गुनासो छ । ‘आफूहरूले पुराना घर नभत्काउन अनुरोध गर्दा पनि ठेकेदारले भत्काउनै पर्छ भन्दै भत्काउन लगाएपछि अहिले घर न घाटको भएका छौँ ।’-पीडित खीनौरी गन्धर्वले भनिन्-‘अहिले खुल्ला आकाशमुनी बस्न बाध्य छौँ ।’

१९ लाख ५० हजार रुपियाँमा १० वटा घर निर्माण गर्ने गरी घर निर्माण कार्यको जिम्मा पनि लाभग्राही उपभोक्तालाई नै दिइएको भवन डिभिजन कार्यालय रोल्पाले जनाएको छ । तर, उपभोक्ताहरूले भने स्थानीय ठेकदार विनोद सुवेदीलाई निर्माण कार्यको जिम्मा दिँदा अहिले यस्तो समस्या उत्पन्न भएको भवन डिभिजन कार्यालय रोल्पाका डिभिजन प्रमुख इश्वरराज जोशीको भनाई छ ।

कार्यक्रम सञ्चालन भएदेखि डिभिजन कार्यालयले पनि फर्केर नहेरेका कारण आफूहरूको घर निर्माण कार्य अलपत्र परेको पीडितहरूको गुनासो छ ।

घर निर्माणको जिम्मा लिएका ठेकदारलाई समयमा काम सम्पन्न गर्न भवन डिभिजिन कार्यालय रोल्पाले ताकेता गरिदिनु पर्ने गन्धर्वहरूको माग रहेको छ ।

1

1

1

1

1
1

1

अन्य

भिडियो