रास्कोट नपा-१ निवासी नागरिक दैनिक कालिकोटमा कार्यरत ३० वर्षीय पत्रकार पवित्रकुमार शाहीलाई सोही नपा १ र २ का वडाध्यक्षले वैशाख २७ गते मार्ने धम्की दिएको पीडितले आरोप लगाएका छन् ।
नागरिक दैनिकको पश्चिमेली संस्करणमा वैशाख २४ गते ‘वडाध्यक्ष प्रहरी फन्दामा’ शीर्षकको समाचार प्रकाशित गरेको आरोपमा वडा नम्बर १ का वडाअध्यक्ष ३५ वर्षीय नवराज सञ्ज्याल र वडा नम्बर २ का वडाअध्यक्ष ४० वर्षीय दयाराम सिम्खाडाले शाहीलाई मोबाइलबाट मार्ने धम्की दिएको पीडितले आरोप लगाएका छन् ।
वडाध्यक्ष सञ्ज्याललाई सुर्खेतमा मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी प्रहरी हिरासतमा राखी रिहा गरेको थियो । उक्त समाचार शाहीले नागरिक दैनिक र मिसन न्युज अनलाइनमा प्रकाशन गरेका थिए । पीडित पत्रकार शाहीका अनुसार वडा नम्वर २ का अध्यक्षले एउटै नगरपालिकाको सहकर्मीको समाचार प्रकाशन गरेको भन्दै धम्की दिएका हुन् ।
सञ्ज्यालले ९८४८३२९८९८ नम्बरको मोबाइलबाट अपशब्द बोल्नुका साथै ज्यान मार्ने धम्की दिएको र सिम्खाडाले ९८४८३११६३५ नम्बरको मोबाइलबाट पटकपटक धम्की दिएको पीडितको आरोप रहेको छ ।
आरोपित वडाध्यक्षद्वयले आफूहरूले धम्की नदिएको बताएका छन् । उनीहरूले व्यक्तिगत रिसिइबीमा कुनै मिडियामा नआएको झुठा समाचार छापेर आफ्नो मानहानी भएको बताएका छन् ।
घटनाका विषयमा नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले वैशाख २८ गते विज्ञप्तिमार्फत निन्दा गरेको छ । महासचिव दिपेन्द्र शर्माद्वारा जारी विज्ञप्तिमा समाचारमा चित्त नबुझे कानुनी बाटो हुँदाहुँदै पत्रकार धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको जनाइएको छ ।