दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा मारिएका तथा बेपत्ता पारिएकाहरूको सम्झनामा रोल्पाको लिबाङमा शान्ति स्मारक निर्माण गरिएको छ ।

रोल्पा नगरपालिकाको १ लाख ८५ हजार रुपियाँ र मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) को ५ लाख ५४ हजार रुपियाँ गरी जम्मा ७ लाख ३९ हजार रुपियाँमा निर्माण गरिएको उक्त शान्ति स्मारकको वैशाख २१ गते राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अनावरण गरे ।
शान्ति स्मारकको अनावरण गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष शर्माले स्मारकले सशस्त्र द्वन्द्वको चित्रण गर्ने बताए ।
कतिपयले द्वन्द्वलाई सम्झनु हुँदैन भन्ने गरेको भएता पनि द्वन्द्व किन र के कारण भयो राज्यले गरेको भेदभाव र जनताको आवश्यकता परिपूर्ति गर्न नसकेर द्वन्द्व भएको भन्ने कुरा भावी पुस्ताले थाहा पाउनका लागि पनि द्वन्द्वलाई बिर्सन नहुने बताउँदै अध्यक्ष शर्माले त्यसको सम्झना यस्ता शान्ति स्मारकले दिलाउने समेत उल्लेख गरे ।
उक्त शान्ति स्मारकमा द्वन्द्वको क्रममा ज्यान गुमाएका ९ सय ६९ जना मृतक र बेपत्ता पारिएका ३३ जना रोल्पालीहरूको नाम लेखिएको छ ।