नेपालगञ्ज उमनपा-८ की २४ वर्षीया फरहिन सिद्दिकीलाई दाइजो नल्याएको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति सलिम सिद्दीकीलाई वैशाख १९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले विवाह भएको ६ महिनादेखि दाइजो नल्याएको भन्दै पटकपटक कुटपिट गरेको र आगो लगाउने धम्की दिएको भन्दै पीडितले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी थिइन् ।
विवाह भएको २ महिनादेखि नै आफूमाथि हिंसा भइरहेको पीडितले आरोप लगाइन् । घरका अन्य सदस्यलेसमेत आफूमाथि हिंसा गर्ने गरेको पीडितले बताइन् । पीडित र आरोपितबिच एक वर्षअघिमात्रै विवहा भएको हो ।
भारत कैशरगञ्ज माइतीघर भएकी फरहिनमाथि कुटपिट भएको थाहा पाएपछि पीडितका आमाबुवा नेपालगञ्ज आएर बसेका छन् । विवाह भएदेखि आफूलाई घरपरिवारले एक पटक पनि माइत जान नदिएको पीडितले आरोप लगाएकी छन् ।
जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रकी असई श्यामकुमारी पाइजाले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको बताइन् ।