विनाशकारी भूकम्प गएको तीन वर्षबित्दा पनि भूकम्प पीडितको अवस्था उस्तै रहेको पाइएको छ । जिल्लामा पुनर्निर्माणको कामले गति लिन नसक्दा भूकम्प पीडितको अवस्था उस्तै रहेको पाइएको हो ।
भूकम्पले रामेछापमा ५५ हजार भन्दा बढी घर क्षति भएका छन् । तर, जिल्लामा तीन वर्षको अवधिमा १३ हजार निजी आवास मात्र निर्माण भएका छन् । अधिकाँश भूकम्प पीडितहरू अहिले पनि भूकम्पले जीर्ण बनेका जोखिमपूर्ण घरमा बसिरहेका छन् । कतिपय पीडितहरू अहिले पनि बाँसको टहरोमा कष्टपूर्ण जीवन गुजारिरहेका छन् ।
भूकम्प आपतकालिन सहायता केन्द्र जिल्ला आयोजना कार्यान्वयन इकाई रामेछापका सूचना व्यवस्थापन विज्ञ सुरेन्द्र यादवका अनुसार हालसम्म १३ हजार पीडितले घरको छानो छाएका छन् । जिल्लामा २९ हजार २ सय ७४ घरले घरको जग उठाएका छन् । ती मध्ये २९ हजार ३१ घरले दोस्रो किस्ताको रकम थप १ लाख रुपियाँ बुझेका छन् ।
झण्झटिलो कागजी प्रक्रियाका कारण घर बनाई सकेका १३ हजार घरपरिवार मध्ये आधाले मात्रै तेस्रो किस्ता रकम बुझेका छन् । हालसम्म ७ हजार ५ सय घरले मात्र तोस्रो किस्ता रकम पाएका छन् । भूकम्पले घर क्षति भएका मध्ये ४३ हजार ३ सय ४० लाभग्राहीले पुनर्निर्माण प्राधिकरणसँग निजी आवास निर्माणका लागि सम्झौता गरी पहिलो किस्ता बापतको ५० हजार रुपियाँ लिएका छन् ।
आफूहरू लाभग्राहीको सूचीमा नपरेको भनी जिल्लाभरबाट १४ हजार ५ सय जनाले गुनासो गरेका भए पनि त्यसको सुनुवाइसमेत हुन सकेको छैन । जिल्लामा घर बनाउन आवश्यक पानी र दक्ष जनशक्तिको अभावका कारण सोचे अनुरूप पुनर्निर्माणको कामले गति लिन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई रामेछापले जनाएको छ ।
सरकारले घर बनउने समय सिमा थप गरेको भए पनि यहि गतिमा काम भएमा सो समयमा पनि पीडितले घर बनाउन सक्ने अवस्था छैन ।