अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मानव अधिकार अभिलेखिकरणलाई नागरिकको अनूभूतिसँग गाँस्नु पर्ने बताएका छन् । इन्सेकको आयोजनामा वैशाख १२ र १३ गते काभ्रेको धुलिखेलमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक निर्देशिका परिमार्जन कार्यशालाको प्रारम्भ गर्दै उनले सो कुरा बताएका हुन् ।
नागरिक अगुवा तथा अधिकारकर्मीहरूको सहयोग र समन्वयबाट नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको उल्लेख गर्दै अध्यक्ष प्याकुरेलले मानव अधिकार संरक्षण र सम्बर्द्धनमा इन्सेककर्मीको भूमिका महत्वपूर्ण हुनुपर्ने बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि र सम्झौताको अध्ययन गरी घटनाको विश्लेषण गर्नुपर्नेमा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलको जोड दिए ।
मानव अधिकार उल्लंघन तथा ज्यादती घटनाका पीडितहरू इन्सेकर्मीसँग न्यायको लागि पैरवीको आशा गर्ने गरेका कारण सामाजिक न्याय तथा पीडितको न्यायका लागि हाम्रो भूमिका महत्वपूर्ण हुनु पर्ने अध्यक्ष प्याकुरेलले बताए ।
‘मानव अधिकार संरक्षण र सम्बर्द्धनमा भएका महत्वपूर्ण उपलब्धिहरूको अभिलेख गर्न थाल्नुपर्छ ।’-अध्यक्ष प्याकुरेलले भने ।
स्थानीय स्तरमा न्याययिक समिति गठन भएकाले उक्त समितिले गर्ने न्यायिक प्रक्रियाको अभिलेख गरी पीडितको न्यायका लागि इन्सेककर्मीको भूमिका स्थानीय स्तरमै हुनुपर्नेमा अध्यक्ष प्याकुरेलले जोड दिए ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले सन् १९९२ देखि प्रत्येक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक निर्देशिकालाई समय सापेक्ष रूपमा परिमार्जन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
स्थानीय, प्रादेशिक र सङ्घीय गरी तीन तहको निर्वाचन हुनुकासाथै संविधानमार्फत स्थानीय स्तरमा अधिकार प्रदान गरिएकाले ती अधिकार नागरिकले उपभोग गर्न पाउनु पर्ने विषयमा पैरवी हुनुपर्नेमा उनले जोड दिए ।
आम सञ्चार विज्ञ विनोद भट्टराईले कार्यशालामा सहजीकरण गर्दै निर्देशिका सरल र स्पष्ट बनाएर इन्सेकका सबै प्रकाशनको एउटै शैली पुस्तिका बनाउनु पर्ने बताए ।
मानव अधिकार प्रलेख तथा प्रसार विभाग प्रमुख मदन पौडेलले मानव अधिकार प्रलेखिकरणलाई बदलिएको परिवेश अनुसार परिमार्जन गर्नुपर्ने बताए ।
कार्याशाला गोष्ठिमा इन्सेक केन्द्रीय कार्यालयका अभिलेख तथा प्रसार विभागका प्रतिनिधि, इन्सेकका पाँच ओटै कार्यालयका संयोजक र प्रलेख अधिकृतको सहभागिता रहेको छ ।





