नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ०८२ असोज ८ गते संविधानको धारा ११४ बमोजिम मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नु भएको छ । अध्यादेश जारी भएसँगै निर्वाचन आयोग निर्वाचनको तयारीको जुटेको छ । जेनजी आन्दोलनपछि ०८२ भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरेर भदौ २७ गते ०८२ फागुन २१ गतेलाई निर्वाचनको मिति तोकी सकेको छ । निर्वाचन आयोगले असोज ९ गते विज्ञप्ति जारी गरेर ०८२ कार्तिक ३० गतेसम्म मतदाता नामावली संकलनको तयारी गरेको छ । निर्वाचनको मिति तय भएसँगै प्रदेशस्तरमा निर्वाचन आयोगले के कसरी काम गरिरहेको छ भन्ने विषयमा कोशी प्रदेश निर्वाचन, कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीसँग इन्सेक मोरङ, प्रतिनिधि विनोद सुवेदीले कुराकानी गर्नु भएको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश–
निर्वाचन अयोग कोशी प्रदेशले निर्वाचनको के कसरी तयारी गरिरहेको छ ?
प्रदेश निर्वाचन कार्यालयलाई कार्यालयमा भएका मतपेटिका, मतदाता नामावली किटलगायतको विवरण पठाउन केन्द्रबाट भएको परिपत्र अनुसार कार्यालयमा भएका मतपेटीका र मतदाता नामावली किटको विवरण सङ्कलन गरी केन्द्रलाई पठाउने तयारीमा लागेका छौँ । पुराना मतदाता नामावली किट भएकाले काम लाग्ने नलाग्ने जाँच गरी रहेका छौं ।
सरकारले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश ०८२ असोज ८ गते जारी गरेको छ < अब कसरी काम हुन्छ ?
सरकारले तय गरेको मितिमा निर्वाचनका गराउनका लागि स्थगित भएको मतदाता नामावली संकलनको कार्य निर्वाचन आयोगको ०८२ असोज ९ गतेको निर्णयपछि सुचारु हुनेछ । सोही अनुसार निर्वाचन आयोगले हामीलाई निर्देशन र परिपत्र गर्नेछ । त्यसकैका आधारमा मतदाता नामावली संकलनको कार्य अघि बढ्ने छ । ०८२ फागुन २० गतेभित्र १८ वर्ष उमेर पुगेकाहरुलाई मतदान गर्न पाउने व्यवस्थाका लागि निर्वाचन आयोगबाट प्राप्त हुने निर्देशन र आदेश बमोजिम अबका कार्यहरु अघि बढ्ने छन् ।
मतदाता नामावली सङ्कलनका लागि के गर्दै हुनुहुन्छ ?
मतदाता नामावली सङ्कलनका लागि हालसम्म कुनै तयारी भइसकेको छैन । विगतमा निर्वाचन घोषणा भएपछि मतदाता नामावली सङ्कलनको काम बन्द गर्ने गरिएको थियो । तर, अहिले मतदाता नामावली सङ्कलन बन्द गर्दा धेरै मतदाताहरू छुट्ने अवस्था रहेकाले कानुन संसोधनको प्रक्रिया अघि बढेको जानकारी पाएका छौं । कानुन संशोधन भएर केन्द्रीय कार्यालयले निर्देशन दिएपछि नामावली सङ्कलनको काम सुरू गर्नेछौं । अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन नआएका कारण मतदाता नामावली सङ्कलनका लागि किटलगायतका आवश्यक सामाग्री तयारी अवस्थामा राखेका छौं ।
मतदाता नामावली कहाँ–कहाँबाट सङ्कलन गर्ने तयारी छ ?
अहिलेसम्म स्पष्ट भइसकेको छैन । तर, प्रत्येक स्थानीय तह र निर्वाचन आयोगको कार्यालयबाट सङ्कलन गर्ने सम्भावना देखिएको छ । मतदाता नामावली सङ्कलनको काम सुरू हुनु भन्दा पहिले यस विषयमा सूचना जारी गरिने छ । यतिमात्रै हैन, नयाँ मतदाताहरूलाई मतदाता नामावली सङ्कलनका लागि सकेसम्म सहज र पायक पर्नेगरी काम अघि बढाउने आयोगले योजना बनाउने छ ।
आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षतिले निर्वाचनलाई प्रभाव पार्ने सम्भावना छ की छैन ?
हालसम्म प्राप्त जानकारी अनुसार मतदान स्थलहरूमा आन्दोलनका क्रममा क्षति पुगेको अवस्था छैन । निर्वाचन कार्यालयमा केही क्षति पुगेको भए पनि निर्वाचनसम्ममा पुरानै अवस्थामा पुर्याउन सकिने सम्भावना देखिएको छ । तर, आन्दोलनका क्रममा धेरै सरकारी सवारी साधन र प्रहरीका सवारी साधनमा जलेर क्षति पुगेका कारण भने समस्या हुने देखिएको छ ।
निर्वाचनका लागि थप केही तयारीहरू गरिएका छन् की ?
निर्वाचनका लागि गोदाम व्यवस्थापनको काम अघि बढाइएको छ । अघिल्लो २०७९ सालको निर्वाचनका कागजपत्रहरूले कार्यालयको गोदाम भरिएका कारण गोदाम खाली गर्ने काम पनि अघि बढाइएको छ । गोदाममा रहेका अघिल्लो निर्वाचनको कागजपत्र लिलामीको प्रक्रिया अघि बढेको छ । स्वच्छ र भयरहित ढङ्गमा मतदाताले आफ्नो अमूल्य मतदान दिन पाउने व्यवस्था निर्वाचन आयोगल मिलाउने छ ।