“सामाजिक न्याय र लैङ्गिक समानता : दीगो विकासको सुनिश्चितता” भन्ने नाराका साथ ११२ औँ अन्तराष्ट्रिय नारी दिवश प्रदेश १ मा विविध कार्यक्रम गरी मनाइएको छ ।
सामाजिक विकास मन्त्रालय, इन्सेक प्रदेश कार्यालय विराटनगरसहित विभिन्न सामाजिक सङ्घसंस्थाले फागुन २४ गते प्रभातफेरी र्याली गरी कार्यक्रम मनाएका छन् ।
महिला हिंसाविरूद्धका नारासहित प्रभातफेरी अन्तराष्ट्रिय नारी दिवश मनाइएको इन्सेक प्रदेश १, कार्यक्रम अधिकृत बाग्मती कट्टेलले बताउनु भयो ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा अन्तराष्ट्रिय नारी दिवश विविध कार्यक्रम गरी मनाइएको छ । र्याली, गोष्ठी, अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न दिवश मनाइएको छ ।इनरूवा नगरपालिकाले मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा क्रियाशिल संस्थाहरूको सहभागितामा संयुक्त रूपमा र्यालीसहित कोणसभा सम्पन्न गरेको छ । इनरूवामा ‘सामाजिक न्याय र लैङ्गिक समानताः दीगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ लोकतान्त्रिक चौक, इनार चौक, बसचौक हुँदै इनरुवा नगरपालिकामा कोण गरिएको थियो ।
इनरूवा नगरपालिकाले नगरक्षेत्रबाट पहिलो एसएलसी पास गर्ने महिला, पहिलो महिला पत्रकार चन्दा रायमाझी, पहिलो महिला कवि विमला पोखरेल, प्रधानाध्यापक गङ्गा बराल, महिला चिकित्सक पुजा दास, गायक राधा सुवेदी, फुटबल खेलाडी आशिका बोहरा, मौलिक भाषागत गायिका राजकुमारी चौधरी, अपाङ्गता क्षेत्रमा योगदान गर्ने रूकमणि घिमिरेसहित १० जनालाई सम्मान गरेको छ ।
इनरूवाको पहिचानमा महिला भएर पहिलो पटक योगदान गर्ने शिक्षा, स्वास्थ्य, कला, साहित्य, संस्कृति, खेल, सामाजिक क्षेत्रका महिलाहरूलाई ११२ औँ अन्तराष्ट्रिय नारी दिवशको अवसरमा सम्मान गरेको इनरूवा नगरपालिकाकाकी उपप्रमुख जमुना गौतम पोखरेलले बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले महिलाहरूलाई स्रोत, सम्पत्ति, सत्ता र शिक्षामा समान पहुँच नभएसम्म अधिकारको कुरा पूर्ण प्रत्याभूत गर्न नसक्ने बताउनु भयो ।
सामुदायिक परिवर्तन केन्द्र नेपाल, मानव अधिकार समूह र इन्सेकले संयुक्त रूपमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी दिवश मनाएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकामा मानव अधिकार समूहसहितको सहभागितामा दाईजो प्रथा विरूद्धको अन्तरक्रिया गरिएको छ । कार्यक्रममा मानव अधिकार समूहका भोक्राहा नरसिंह अध्यक्ष ममता उराँवले अझै पनि नेपालमा महिलामाथि हुने हिंसाहरूमा कमी नआएको बताउनुभयो । उहाँले इन्सेकले सार्वजनिक गरेको वर्ष पुस्तक २०२२ मा समावेश भएका घटनाको झण्डै ६० प्रतिशत महिला हिंसाबाट पीडित रहेको बताउनु भयो ।
भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनमकुमारी मेहताले लैङ्गिक हिंसाले महिलाको साथै पुरुषहरूको पूर्ण क्षमताको प्रयोगमा नकारात्मक असर पर्नुको साथै आर्थिक विकास र महिला सशक्तीकरणको बाटोमा अवरोध सिर्जना भएको भन्दै हिंसा न्यूनीकरणका लागि सबैले साझा एजेण्डाको रूपमा अघि बढाउनुपर्ने बताउनु भएको छ ।
खोटाङ प्रतिनिधि तारानाथ फुयालका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका , इन्सेक, मानव अधिकार आयोग र गैरसरकारी सङ्घ संस्थाको आयोजनामा जिल्लामा ११२ औँ अन्तराष्ट्रिय नारी दिवश मनाइएको छ । कार्यक्रममा जिल्ला समन्वय प्रमुख वबि चाम्लिङले महिलालाई समाजमा अझै पनि विभेदको नजरबाट हेरिने भएकाले त्यसको सुधार आवश्यक रहेको बताउनु भयो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दीपनरायण रिजालले महिलालाई समानजनक व्यवहार गरेको खण्डमा मात्र समाजमा महिला र पुरूषबिचको विभेद अन्त्य हुने बताउनु भयो । उहाँले नगरपलिकाले हिंसामा परेका बालबालिका तथा महिलाहरूलाई सहयोग गर्ने कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा ११२ औँ अन्तराष्ट्रिय नारी दिवश वक्तृतकला कार्यक्रम गरी मनाइएको छ । इन्सेकसहित मानेभञ्याङ गाउँपालिका, दलित लक्षित केन्द्र नेपाल, कोकनलगायतका सङ्घसंस्थाको आयोजनामा महिला अधिकारका सवालमा वक्तृतकला कार्यक्रम गरी ११२ औँ अन्तराष्ट्रिय दिवश मनाइएको छ ।
इलाम प्रतिनिधि बविता मैनालीका अनुसार जिल्लामा सामाजिक न्याय र लैङ्गिक समानता दीगो विकासको सुनिश्चिता विषयक अन्तरक्रिया कार्यक्रम गरी ११२ औँ अन्तराष्ट्रिय नारी दिवश मनाइएको छ ।