इन्सेक सल्यानको आयोजनामा स्वास्थ्यको अधिकार सम्बन्धी सरोकारवासँगको अन्तरक्रिया कार्यक्रम असोज १६ गते शारदा नपामा सम्पन्न भएको छ ।
कार्यक्रमका सहभागिहरूले स्वास्थ्यलाई सर्वसुलभ र गुणस्तरीय बनाउनुपर्ने सुझाव दिएका छन् । पछिल्लो समयमा स्वास्थ्यकर्मीको अभाव, औषधि अभाव, स्वास्थ्य नीति निर्माण नहुनु लगायतका कारण नागरिकले सास्ती पाउदै आएकाले आगामी दिनमा थप सहज हुनुपर्ने सहभागिहरूले बताएका हुन् ।
मानव अधिकार समूहका अध्यक्ष मुना हमालको अध्यक्षता भएको कार्यक्रममा बोल्दै शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष केशवसिंह श्रेष्ठले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर वडाले काम गर्दै आएको बताउनुभयो ।
इएलपी परियोजनाका जिल्ला सहजकर्ता रामचन्द्र रेग्मीले कार्यक्रमको विषयमा जानकारी दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले गर्नुभएको थियो ।
