इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिकास्तरीय मानव अधिकार समूहको समन्वय तथा बाल अधिकार चेतना समूहको आयोजनामा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०८१ पुस २४ गते बेलौरीको गोकुलपुरमा सम्पन्न भएको छ ।
बेलौरी नगपालिका वडा नम्बर २ का वडाध्यक्ष कलबिर चौधरीले बदलिँदो परिवेशमा नागरिकहरूले अधिकार सँगसँगै नागरिक कर्तव्य पनि पालना गर्दै जलवायु अनुकुल विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न र वातावरणमैत्री संरचना निर्माण गर्न स्थानीय सरकारलाई सहयोग गर्नु पर्ने बताउनु भयो ।

लक्ष्मी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक अनिलप्रसाद पाण्डेले बिभिन्न उद्योगहरूबाट उत्सर्जन हुने फोहोर मैलाले वातावरणमा नकारात्मक प्रभाव पार्नुका साथै ध्वानि प्रदूषण पनि हुने र यसबाट बिभिन्न रोगहरु लाग्ने भएकाले वातावरणलाई स्वच्छ बनाउन र वातावरणको संरक्षण गर्नु हामी सबैको प्रमुख दायित्व रहेको बताउनु भयो ।
बाल अधिकार चेतना समूहका अध्यक्ष हेमा कार्कीले टोल छिमेकमा प्राय दिनहुँ जसो हुने गरेका जन्मदिन मनाउने, विवाह ब्रतबन्धका कार्यक्रमहरुमा ठुलो आवाजमा बजाईने गरेका डिजेहरुले बालबालिकाहरुको पढाईमा बाधा हुने गरेकोले यसप्रति सरोकारवाला निकायहरुले ध्यान दिनु पर्ने बताउनु भयो ।

इन्सेक जिल्ला सहजकर्ता कैलाश पनेरुले वातावरण नीति २०७६ प्रस्तुत गर्दै नागरिकको स्वच्छ वातारणमा बाँच्न पाउने मौलिक हक भएकोले सरोकारवाला निकाय तथा राज्यका तीनै ओटै तह एकजुट भएर वातावरण नीति ०७६ कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो ।