भक्तपुरका स्थानीय तहलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारमा जिम्मेवार बनाउनु पर्ने स्थानीय बासिन्दाले माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नम्वर ३ र मानव अधिकार निगरानी समूहको आयोजनामा पुस १५ गते भएको स्थानीय समुदायको शिक्षा स्वास्थ्य र खाद्य अधिकारको लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउनका लागि पैरवी कार्यक्रम अन्तर्गत चाँगुनारायण नगरपालिका–२ मा भएको स्थानीय सरोकारवाला र सेवा प्रदायक निकायबीचके अन्तरक्रिया कार्यक्रममा सहभागहरूले सो कुरा बताएका हुन् ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका–२ का वडा अध्यक्ष शिवहरी केसीले स्थानीय निकाय आएपछि जनताका धेरै समस्याहरू सहज बन्दै गएको दाबी गर्नुभयो । उहाँले चाँगुनारायण नगरपालिमा केहि समस्याहरू यथावतै रहेको बताउँनुभयो । वडा नं. २ मा निर्माण भएको स्वास्थ्य भवन अझै हस्तान्तरण नहुँदा बर्थिङ सेन्टर सहितको सेवा दिन समस्या परेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा कृषि शाखाका अधिकृत मणिराम दवाडीले माटोमा अम्लियपन बढ्दा उत्पादनमा निकै ह्रास आएको बताउँनुभयो । “हाल दुई जना मात्रै कृषि प्राविधिकका भरमा सिङ्गो नगरपालिका हेर्नु परेका छ, केही समस्या अवश्य छन्” उहाँले भन्नुभयो ।
वडा नं. १ मा रहेको स्वास्थ्य चौकीकी अहेब संगीता ढकालले आफू आएदेखि नै निःशुल्क भनिएका १० थरिको औषधि मात्रै पाईने र अरु अभाव भएको बताउँनुभयो । अहेब ढकालले स्वास्थ्य चौकीमा उपकरणहरूको अभाव रहेको बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपिलका स्तरीय मानव अधिकार समूह संयोजक बच्चुराम न्यौपाने, कार्यपालिका सदस्य कुमार अछामी, वडा नं. १ का कार्यवहाक वडा अध्यक्ष गणेशबहादुर श्रेष्ठ, वडा नं. २ का वडा सदस्य सोम प्रधान, वडा नं. ३ का वडा सदस्य प्रेमबहादुर बाखु, वडा नं. २ का सदस्य मोहन पौडेल, वडा नं. १ की महिला सदस्य सचिकला खड्कालगायतले स्थानीय निकायका समस्याहरूको समाधानमा आफूहरू लागि पर्ने बतानुभयो ।