अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ७ नं प्रदेश कार्यालय, धनगढीको आयोजनामा बान्नीगढी-जयगढ गाउँपालिकाका सदस्यहरूलाई आयोजित दुई दिने स्थानीय तहको सुशासन र नेतृत्व विकास तालिम भदौ ५ गते जयगढमा सम्पन्न गरिएको छ ।
भदौ ४ गतेदेखि सञ्चालन गरिएको तालिममा जनप्रतिनिधिको प्रभावकारी प्रतिनिधित्व, समुदायसँगको सम्वाद, स्थानीय तहको श्रोत व्यवस्थापन र परिचालनका बारेमा प्राध्यापक डक्टर हेमराज पन्त र सुशासनको आवश्यकता, आयाम, सुशासन कायम गर्ने विधि, सामाजिक समावेशीकरणका बारेमा अधिवक्ता पुष्पविक्रम शाहीले सहजीकरण गरेका थिए ।
तालिमको समापन कार्यक्रममा बान्नीगढी-जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले स्थानीय तहको थोरै श्रोत साधनका बिचमा नागरिकका मागहरू पुरा गर्नु पर्ने बाध्यता रहेको बताए । सुशासनलाई मध्यनजर गर्दै गाउँपालिकाका कामहरू प्रभावकारी बनाउनतर्फ ध्यान दिइएको अध्यक्ष खडकाको भनाई छ । तालिममा बान्नीगढी-जयगढ गाउँ कार्यपालिकाका सदस्यहरूको समेत सहभागिता रहेको थियो ।



शिवराज ढुङ्गाना