अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बागमती प्रदेश कार्यालयको आयोजनामा ०८३ असार ३१ गते काठमाडौँमा मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न भएको छ ।
बैठकमा राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव श्यामबाबु काफ्लेले मानव अधिकार सहायता कक्षले वास्तविक समस्या र पीडितहरुको पहिचान गरी नागरिकको मानव अधिकारको संरक्षण र संवर्धनमा प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औल्याउनु भयो । उहाँले कानुन परिमार्जनसँग सम्बन्धित सुझावहरुलाई आयोगमा जानकारी गराउन र सिफारिस गर्न अनुरोध गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय, काठमाडौँका प्रहरी निरीक्षक सरस्वती कार्कीले घरेलु हिंसा, बलात्कार, बहुविवाह, बालविवाह, मानवबेचबिखन र बालबालिकाको कसुरसम्बन्धी मुद्दाहरु बढी आउने गरेको बताउनु भयो ।
उहाँले अघिल्लो आर्थिक वर्षमा मात्रै ३ सय जना पुरुष पीडितहरुको उजुरी परेको, बेनामी उजुरीहरु पर्ने गरेको र बालकहरु झुठा मुद्दामा पीडित हुनुपरेका कारण अदृश्य र नयाँ प्रकृतिका चुनौतीहरुलाई समेत समाधान गर्न मानव अधिकार सहायता कक्षले भूमिका खेल्न आवश्यक रहेको बताउनु भयो ।

लैंगिक हिंसा निवारण सञ्जाल, काठमाडौँका कोषाध्यक्ष अधिवक्ता रशना ढकालले समुदायस्तरमा कानुनी सचेतना पुर्याउन सकेमा मानव अधिकारको सम्मान हुने हुँदा अभिभावक सचेतना र स्थानीय सरकारको लैंगिक हिंसा निवारण कोषको परिचालन गर्न सहायता कक्षले भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो ।
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका ओसिएमसी फोकल पर्सन शुकमाया तामाङले कार्यस्थलमा आफूले काम गर्दा हुने मानसिक तनाव र पीडितहरुको मानसिक स्वास्थ्यमा पर्ने असरका बारेमा बताउदै सोको समाधानका लागि सञ्जाल मार्फत सहकार्यको अनुरोध गर्नुभयो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ओसिएमसी फोकल पर्सन समीक्षा पराजुलीले सहायता कक्षका सदस्य संस्थाहरुले निर्वाह गर्न सक्ने भूमिकाका सम्बन्धमा सूचना आदानप्रदान गर्न र इन्सेकको टोल फ्री नम्बर १८१०५०००ं४३३ लाई प्रभावकारी बनाउन आवश्यक रहेको सुझाव दिनुभयो ।
सिविन नेपालका कार्यक्रम व्यवस्थापक माधव लोहनीले सहायता कक्ष मार्फत पीडितहरुलाई व्यवहारिक समाधान दिन सरोकारवालाको काम र विवरण सम्बन्धी सूचि तयार पार्न र सामाजिक सञ्जाल मार्फत सूचनामुलक सामाग्रीहरु सम्प्रेषण गर्न सकिने बताउनु भयो ।
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका सदस्य वर्ष लुइटेलले सहायता कक्षलाई थप सुदृढिकरण गर्दै सरोकारवालाहरुसँगको समन्वयमा वृद्धि गर्नुपर्ने बताउनु भयो ।
जेसिवाइसियनका कार्यक्रम अधिकृत कवि पौडेलले मानव अधिकार सहायता कक्षको नेतृत्वमा विभिन्न युवा सञ्जालहरु मार्फत सामुदायिक नैतिक शिक्षालाई अगाडी बढाएर मानव अधिकार सँगसँगै नागरिकको दायित्वको प्रचारप्रसार गर्न सकिने बताउनु भयो ।
उक्त बैठकमा इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले इन्सेक अभियान र मानव अधिकार सहायता कक्षको प्रगति र कार्यशैलीका सम्बन्धमा बताउनु भयो । इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलले मानव अधिकार सहायता कक्षको स्थापनाको उद्देश्य र दायित्वका बारेमा बताउनु भएको थियो ।
बैठकको सहजिकरण इन्सेककर्मी बरुण बस्यालले गर्नुभएको थियो ।


