अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका सदस्यहरूको लागि आयोजित क्षमता अभिबृद्धिसम्वन्धि तालिम असोज २१ गते डोटीमा सम्पन्न गरिएको छ ।
तालिममा मानव अधिकार, मानव अधिकारको विकासमूखी अवधारणा, स्वास्थ्य, शिक्षा, खाद्य, आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारलगायतका विषयमा सहजीकरण गरिएको थियो ।
इन्सेक सुदूरपश्चिम कार्यालयका कार्यक्रम संयोजक दिलबहादुर चौधरीले स्थानीय जनप्रतिनिधिहरूको क्षमता अभिबृद्धि होस् र नागरिकहरूले सहज रूपमा सेवा सुविधाहरू पाउने वातावरण बनोस् भन्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताए ।
बोगटान गाउँपालिकाका–६ का वडा अध्यक्ष विरेन्द्र चन्दले तालिमका माध्यमबाट आफूहरूले सुशासन, नागरिकका हक अधिकार र नागरिकलाई सहज रूपमा कसरी न्याय दिन सकिन्छ भन्ने विषयमा प्रेरणा मिलेको बताउँदै आगमी दिनमा आफूहरूलाई काम गर्न सहज हुने बताए ।
मानव अधिकार निगरानी समूहकी संयोजक ममता कुँवरले तालिमबाट मानव अधिकारसँग सम्बन्धित ज्ञान र सीप प्राप्त भएकाले आगमी दिनमा जनप्रतिनिधिहरूसँग समन्वय गरेर नागरिकका समस्या समाधान गर्नतर्फ सहज हुने बताइन् ।
तालिममा केआईसिं गाउँपालिका, बोगटान गाउँपालिकाका जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूको सहभागिता रहको थियो ।
बासुदेव जोशी