स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिकाको वडा नं. ४ को सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम ०८० भदौ २४ गते सम्पन्न भएको हो ।

डब्लुपिडि नेपाल र इन्सेकको सहकार्यमा मनहरी गाउँपालिका वडा नं. ४ मा ‘अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण’ रिन्यु परियोजना अन्तर्गत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य समस्यामा अस्पतालमा वेडको अभाव हुँदा बिरामीलाई भूइँमा उपचार गर्ने गरेको, राज्यले पर्याप्त मात्रामा आधारभुत औषधि निशुल्क भनेता पनि जनताले अझै पनि पाउन नसकेको, विद्यालयमा कम्प्युटरको अभाव र पुस्तकालयमा सबैलाई सहज पहुँच नभएको, हरेक कुराको निर्णय प्रक्रियामा महिला सहभागिता न्यून रहेको र वडामा वितरण गरिने वस्तुहरू मल, बीउ र अन्य कृषि सामग्री पर्याप्त मात्रामा समयमा पाउन नसकेको बारेमा छलफल भएको थियो ।

यसैगरी, बाटो निर्माण र पूर्वाधारको अझै पहुँच हुन नसकेको, युवा तथा स्थानीय बालबालिकालाई विद्यालयमा पर्याप्त खेलकुद सामग्री पाउन नसकेको, अति विपन्न वर्गका बालबालिकाहरूले विद्यालय छोड्ने दर बढ्दो रहेको, बालबालिकामा बढ्दो दुर्व्यसन धुम्रपान जस्ता गलत क्रियाक्लवहरूको बारेमा छलफल भएको थियो ।
साथै उक्त छलफलमा बाल विवाह, घरेलु हिंसा, पुरुषहरूले मादक पदार्थ सेवन गरी बढ्दै गरेको हिंसाका घटना न्यूनीकरण गर्न विद्यालय प्रशासन र स्थानीय सरकारको भूमिका बढी हुने हुँदा यसलाई जागरुक बनाउन नागरिक समाजले सबैलाई सचेत बनाउन जरुरी रहेको सहभागीहरूले बताएका थिए ।

इन्सेक परियोजना संयोजक कृष्णप्रसाद नेपालले परियोजना लक्षित कार्यक्रमबाट महिला शसक्तिकरण र स्थानीय सरकारलाई जिम्मेवार बनाउन र मानव अधिकार मैत्री शासन व्यवस्था प्रणालीलाई अवलम्बन गर्नको लागि यो परियोजना केन्द्रित रहेको बताउनु भयो ।
मनहरी गाउँपालिकाको वडा नं. ४ का वडा अध्यक्ष प्रकाश थापाले कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै वडाबाट प्रदान गरिने सेवा प्रवाह र आवास, खाद्य, कृषि सामग्री वितरण जस्ता विषयहरूलाई प्राथमिकता गरिने र जिम्मेवार नागरिकको पनि महिला सशक्तिकरण आर्थिक आर्जनमा महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

पशुपति माविका प्रधानाध्यापक भानुभक्त आचार्यले विद्यालयमा बालबालिकाहरू दुर्व्यसन/धुम्रपान जास्ता कुलत र बाल विवाह हुन नदिन धेरै प्रयास गरिरहेको बताउनु भयो । उहाँले यस्ता कुलतबाट बालबालिकाहरूलाई बचाउन विद्यालय प्रशासन, अभिभावक र स्थानीय सरकारको पनि उत्तिकै भूमिका रहेको बताउनु भयो ।
