INSEC Online

📅 २०८३ जेष्ठ २१

समाजमा विद्यमान बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन

Patthargadha (1)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले समाजमा विद्यमान बालविवाह रोक्नका लागि डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा असार २७ गते सडक नाटक प्रदर्शन गरेको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन सडक नाटकमार्फत सचेतनाको कार्यक्रम गरिएको हो । समाजमा अझै पनि बालविवाह गर्ने क्रम नरोकिएको, दाइजो, छुवाछुत र महिला हिंसामा कमी नआएकोले सडक नाटकमार्फत सचेतनाको कार्यक्रम गरिएको इन्सेकका प्रदेश संयोजक राजु पासवानले बताउनु भयो ।

उमेर नपुग्दै विवाह गर्ने प्रवृति बढेसँगै त्यसले उत्पन्न हुने विभिन्न खाले हिंसा पनि बढ्दै जाने भन्दै बालबालिका र अभिभावकमा सचेतना जगाउन मुख्य बजारहरुमा सडक नाटक प्रदर्शन गरिदै आएको कार्यक्रम संयोजक बरुण बस्यालले बताउनु भयो । इन्सेकले विद्यालयमा गठन गरेको बाल अधिकार सचेतना समूहका विद्यार्थीहरुद्वारा अभिनय गरिएको सडक नाटकमार्फत बालविवाह अन्त्यका लागि सन्देश दिइएको छ ।

स्थानीय भाषामै तयार पारिएको नाटक गाउँ–गाउँमा प्रदर्शन गरेर बाल विवाह अन्त्यको सन्देश दिईएको वडा अध्यक्ष कर्णदेब चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो, “गोष्ठी, भाषणले भन्दा बालविवाहले पार्ने समस्याको बारेमा अभिनयमार्फत चित्रण गरिएको प्रस्तुती गाउँघरमा सार्थक र उपयोगी हुन्छ ।” ग्रामीण परिवेशमा जे कुरा देखिएको छ त्यही कुरालाई नाटकमा उतार्ने प्रयासले परिवर्तन ल्याउने पत्थरगाढाका महेश यादवले विश्वास व्यक्त गर्नुभयो ।
Patthargadha (2) Patthargadha (3)

अन्य

भिडियो