अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बर्दिबास नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहको आयोजनामा समस्या तथा सरोकारवालाको पहिचान तथा कार्य योजना निर्माण बैठक भदौ १९ गते सम्पन्न गरिएको छ ।
मानव अधिकार समूहकी संयोजक उर्मिला कार्कीको अध्यक्षतामा बर्दिबास नगरपालिकामा सम्पन्न बैठकमा मानव अधिकार समूहले सो नगरपालिकाको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी विभिन्न समस्याहरू पहिचान गरेका छन् ।
पहिचान भएका समस्याहरू समाधानका लागि सेवा प्रदायकहरूलाई ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।
बैठकले बर्दिबास नगरपालिका–३ मा बालबालिकाहरूका लागि खोप केन्द्र र वडा नं. ३, ११ र ८ का चार जना पुर्ण अशक्त रहेका व्यक्तिहरूलाई ह्विल चेयरको लागि नगरपालिकामा गएर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
वहाँहरूको आर्थिक अवस्था निकै कमजोर रहेको र हेरविचार गर्ने पनि कोही नभएकाले दैनिक जिवनयापनमा सहायता होस् भन्ने हेतुले यस्तो निर्णय गरेको समूहकी संयोजक उर्मीला कार्कीले बताउनु भयो ।
बैठकले बर्दिबास नगरपालिका–३ मा रहेका तीन जना घरवारविहिन परिवारलाई सुरक्षित आवासको व्यवस्थापनका लागि नगर तथा वडा कार्यालयमा गएर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
बैठकले बर्दिबास नगरपालिका वडा नं. ३ रहेको श्री जनता मावि र वडा नंं. ९ मा रहेको श्री जनमुखी प्रावि, वडा नं. २ मा रहेको प्राविमा नियमित पठनपाठन नभएको भन्ने विद्यार्थीहरूको गुनासो भएका कारण नियमित पठनपाठनका लागि विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा शाखामा गई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
बैठकले कोभिड–१९ का कारण हाल विद्यालयहरू बन्द हुँदा विद्यार्थीको शिक्षण सिकाइ प्रभावित भएको, सामुदायिक विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नभएको, निमावि तथा मावि तह सञ्चालन भएपनि प्राविको दरबन्दीका शिक्षकले अध्यापन गराउनुपर्ने बाध्यता रहेको, सामुदायिक विद्यालयमा लगानीको अनुपातमा उपलब्धि कम हुने गरेको, गरिवीको कारण बालबालिका विद्यालयमा नियमितरुपमा आउन नसकेको, विद्यालयमा स्वच्छ खानेपानीको अभाव रहेको, बालविवाहको कारण विद्यालय छाड्ने दर बढी भएको लगायतका समस्याहरू पहिचान गरेका छन् ।
त्यसैगरी स्वास्थ्यसम्बन्धी समस्याहरूमा कोभिड–१९ को समस्या प्रमुख रहेको छ । कोभिडको त्रासका कारण स्वास्थ्य संस्थामा उपचार गर्न समस्या रहेको, स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि नभएको, स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने सेवाको बारेमा सबै नागरिकले जानकारी नपाएको, बालबालिकामा कुपोषणसम्बन्धी समस्या रहेको, बर्थिङ सेन्टर स्थापना भएपनि सुत्केरी गराउन नआएको, स्वास्थ्य चौकीको भवन सुविधा सम्पन्न भएपनि सेवाग्राहीको पहुँचमा नभएको, कति प्रकारको औषधि निःशुल्क पाइन्छ भन्ने बारेमा नागरिकलाई जानकारी नभएको, आइरन चक्कीको अभाव रहेको जस्ता समस्याहरू पहिचान गरिएका छन् ।
खाद्यसम्बन्धी समस्याहरूमा बजारमा खुल्लारुपमा गुणस्तरहिन खाद्य पदार्थ बिक्री वितरण भइरहेको, बजार अनुगमन नभएको, व्यवसायिक तरकारी खेतीप्रति कृषकहरू खासै आकर्षित नभएको, कृषि र पशुपालनको लागि ऋण उपलब्ध नहुने, सिंचाइको व्यवस्था नभएको, जग्गा प्लटिङले खेतीयोग्य जग्गाहरू नष्ट भएको, कृषकहरूलाई आधुनिक कृषिको बारेमा तालिमको अभाव रहेको, अर्गानिक खेती र उत्पादनमा जोड नदिइएको, एक जना कृषि तथा पशु प्राविधिकले दुई÷तीन ओटा वडामा सेवा दिनु पर्दा सेवा प्रवाह प्रभावकारी नभएको, कृषि अनुदानको बारेमा कृषकहरू जानकार नभएको, अनुदानबाट आउने लाभ भन्दा अनुदान लिन जाने खर्च बढी हुने हुँदा कृषकहरू अनुदान प्रति आकर्षित नभएको, माटोको उर्वराशक्तिको बारेमा माटो परीक्षण नभएको जस्ता समस्याहरू पहिचान भएका छन् ।
बैठकमा समूहकी संयोजक उर्मिला कार्कीले पहिचान भएका समस्याहरूको बारेमा स्थानीय तह, सम्बन्धित इकाइ र वडा कार्यालयहरूमा ध्यानाकर्षण गराइ समाधानको लागि पहल गरिने बताउनु भयो ।
समूहकी सदस्य पवित्रा गौतमले विद्यालय बन्द हुँदा बालबालिकाको भविष्य अन्धकार भएको बताउनु भयो । समूहका सदस्य भोला श्रेष्ठ र विदुर भट्टराईले स्वास्थ्यकर्मीहरू समयमा कार्यालय नआउने र पुरा समयसम्म नबस्ने गरेको आरोप लगाउनु भयो ।
