लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियानको समापन, अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा जिल्लाको सन् २०२२ को मानव अधिकार अवस्थाको समीक्षा कार्यक्रम ०७९ मङ्सिर २५ गते मन्थलीमा सम्पन्न भएको छ ।
मन्थली नगरपालिका, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले मानव अधिकार उल्लङ्घनका घटना बुझेकै मान्छेबाट भइरहेकोले त्यसलाई रोक्न समस्या हुने गरेको बताउनुभयो ।
मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले लैङ्गिक हिंसा न्यूनीकरण तथा मानव अधिकार संरक्षणको लागि निरन्तर कार्यक्रम सञ्चालन भइरहेका भए पनि सोचे जस्तो प्रगति हुन नसकेको बताउनुभयो ।
जिल्ला न्यायाधिवक्ता योगेन्द्रप्रसाद ढुङ्गेलले न्यायाधिवक्ताको कार्यालयमा आएका मुद्दा मध्ये आधाभन्दा बढी महिला हिंसाका घटना नै भएको बनाउनुभयो ।
साथै त्यसमा पनि बलात्कार, बलात्कारको प्रयास र यौन दुर्व्यवहारका मुद्दा भएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी राजकुमार थिङले प्रविधिको विकाससँगै अपराधका प्रकृति पनि फेरिँदै गएको बताउनुभयो ।
अहिले डिजिटल रूपमा हुने हिंसाका घटना बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।
इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको ऐतिहासिक दस्ताबेज भएको पनि उहाँले बताउनुभयो ।
साथै मानव अधिकारको बारेमा अध्ययन अनुसन्धान गर्न इन्सेकको वर्ष पुस्तक उपयुक्त सामाग्री भएको उहाँले उल्लेख गर्नु भयो ।

जिल्ला प्रशासन कार्यालय रामेछापकी प्रशासकीय अधिकृत सुनिता थापाले आर्थिक, सामाजिक, लैङ्गिक तथा पारिवारिक विभेदका कारण आत्महत्याका घटना बढ्दै गएको बताउँदै यसको न्यूनीकरणको लागि सचेतना नै मुख्य साधन हुने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयको तर्फबाट मानव अधिकार र नागरिकका अन्य अधिकार संरक्षणको लागि निरन्तर काम भइरहेको र यसमा कमी हुन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्ला बारका अध्यक्ष विचारसिंह दोङले उमेर नपुगी विवाह गरेर जन्माएको बच्चाको नागरिकता प्राप्तिमा समस्या देखिएकोले त्यसलाई सहज बनाउनु पर्ने सुझाव दिनुभयो ।
बढ्दो सम्बन्ध विच्छेदले सामाजिक विखण्डन सिर्जना गर्न लागेको बताउँदै उहाँले यसलाई रोक्न सचेतनाका कार्यक्रम जरुरी रहेको बताउनुभयो ।
गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष रत्न कँडेलले ज्येष्ठ नागरिकको अधिकार र खाद्य सुरक्षाको अधिकारका विषयमा थप गम्भीर हुन जरुरी रहेको बताउनुभयो । यी विषयलाई सघन रूपमा उठाउन पर्नेमा कँडेलले जोड दिनुभयो ।
कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले जिल्लामा सन् २०२२ मा इन्सेकले २५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण गरेको जानकारी दिनुभयो ।
जसमा बलात्कारका १० ओटा, यौनजन्य दुर्व्यवहारका तीन ओटा, जातीय विभेदको एउटा, बोक्सीको आरोपमा हत्या तथा कुटपिटको एउटा र बाँकी राजनीतिक अधिकारसँग जोडिएका घटना भएको उहाँले जानकारी दिनुभयो ।
मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, सरोकारवाला सरकारी निकायका प्रमुख एवम् प्रतिनिधि, पत्रकार, नागरिक अगुवा, कानुन व्यवसायी लगायतको सहभागिता रहेको थियो ।
