
डाक्नेश्वरी नगरपालिका–७ स्थित जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ २८ गते बाल अधिकार सम्बन्धी ऐन तथा धारा समेटिएको सन्देशमूलक सूचनाको बोर्ड स्थापना गरेको छ ।
त्यसैगरी उक्त अवसरमा बाल अधिकार सम्बन्धी कार्ययोजना बनाउनुका साथै जनचेतनामूलक सडक नाटक प्रदर्शनमा सहभागी बालबालिकालाई प्रोत्साहन स्वरुप मेडल लगाएर सम्मानित गरिएको इन्सेक जिल्ला सहजकर्ता अजय परियारले बताउनु भयो । बाल अधिकार सचेतना समुहका विद्यार्थीहरुले बालविवाह, महिला हिंसा विरुद्ध समुदायलार्इ जागरुक बनाउन माघ २२–२३ गते सडक नाटक प्रदर्शन गरेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक पवनकुमार इशरले बाल अधिकार सचेतना समूहमा संगठित भएपछि विद्यार्थीहरू क्रियाशील बनेको बताउनु भयो । विद्यालयका समस्या तथा अधिकारबाट बञ्चितहरूका विषयमा समूहको बैठक बसेर छलफल गरी निकासको पहल गर्ने गरेको उहाँले बताउनु भयो ।
मानव अधिकार समूहकी सहसचिव मम्मा देवी ठाकुरले नगरपालिकाभित्र रहेको बाल अधिकार सम्बन्धी नीति, नियम बमोजिम अधिकारबाट बञ्चित बालबालिकाहरूको हक, हित तथा महिला हिंसा विरूद्ध काम अगाडि बढाइएको बताउनु भयो । मानव अधिकार समूहको पहलमा नगरपालिकाबाट बालविवाह मुक्त अभियानको नीति ल्याउन थालेको ठाकुरले जानकारी दिनु भयो । कार्यक्रम प्रधानाध्यापक इशरको अध्यक्षतामा भएको थियो ।
