नागरिक समाजको छवि सुधार्नका लागि सबै पक्ष सकारात्मक विचारका साथ अगाडि बढ्नु पर्ने एक कार्यक्रमका सहभागी सरोकारवालाहरूले बताएका छन् ।

अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चैत ११ गते भक्तपुरमा आयोजना गरेको ‘पारस्परिक जवाफदेहिता एवम् नागरिक समाजको सकरात्मक छवि निर्माणको सवाल विषयक’ अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्रले कानुन, समाज, नैतिकता र चरित्रले सबैलाई बाँध्ने गरी काम गर्न सके समाजमा सकारात्मक छवि निर्माण हुने औँल्याए । उनले मानिसको दृष्टिकोण, सोचाइ र आचरणमा परिवर्तन गर्नुपर्नेमा जोड दिँदै नागरिक समाजको तल्लो तहबाटै चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

एमाले भक्तपुर जिल्ला उपाध्यक्ष बचन देउजाले स्थानीय तहको निर्वाचनको संघारमा अब राम्रो छवि भएका उम्मेदवारलाई मात्रै भोट दिन्छौँ भन्ने धारणाको विकास गर्नुपर्ने बताए । उनले नागरिक समाज भित्र बढ्दो राजनीतिक विकृतिलाई रोक्न आवश्यक रहेको औँल्याए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य सुशील बस्नेतले समाजमा पहिले र अहिलेको अवस्थाको फरकलाई पहिचान गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिँदै आफैबाट परिवर्तन सुरु गर्नु पर्ने बताए ।
महिला तथा बालबालिका कार्यालयकी प्रमुख नीला घिमिरेले पछिल्लो समयमा मानिसको मानसिक संरचना नै गलत हुँदै आएको टिप्पणी गर्दै समस्या देखेर पनि टाउको बटार्ने प्रवृत्तिले समाजमा मानव अधिकार हनन्का घट्ना बढेको बताइन् ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी कृष्ण प्रसाईले मानिसमा चेतना बढ्दै जाँदा अपराधका घटना प्रहरीसम्म आउने क्रम बढेको बताए ।
नेपाल बार एशोसियसनका सचिव एवम् अधिवक्ता किरण न्यौपानेले समाजमा जवाफदेहिता कमजोर बनेको बताउँदै सामाजिक सञ्जाल र सञ्चारका माध्यमबाट पनि अपराध बढेको औँल्याए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका उपाध्यक्ष सोम शर्मा बजगाईँले समाजलाई सही मार्गमा लैजान र नागरिक समाजको छवि सुधार्न सामाजिकस्तरबाटै पहल हुनुपर्नेमा जोड दिए ।
क्रियशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले समाजमा निस्वार्थी भावना हट्दै जानु, सहयोगको भावना नहुनु र एक्लोपन बढ्दै जाँदा समाज पनि गलत बाटोमा गएको औँल्याए ।
सविना केसी