इन्सेकद्धारा सञ्चालित “स्थानीय समुदायलाई सचेत जिम्मेवार निकायलाई जबाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत रङ्गेली नगरपालिकामा चैत २३ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा टेलिभिजन सम्वाद तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।
रङ्गेली नगरपालिकामा सञ्चालित शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा सञ्चालित कार्यक्रम अन्तरगत इन्सेक र मानव अधिकार समूह रङ्गेलीको आयोजनामा टेलिभिजन सम्वाद कार्यक्रम सम्पन्न गरिएको हो ।
स्थानीय तहलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सजग बनाउने तथा स्थानीय तहले संविधान प्रदत्त मौलिक हक कार्यान्वयनका लागि गरेका प्रयासहरूलाई सर्वसाधारण पुर्याउने उद्देश्यले टेलिभिजन सम्वाद कार्यक्रमको आयोजना गरिएको इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका सम्बन्धित शाखा प्रमुखहरूले नगरपालिकाले ५ वर्षको अवधिमा जनताको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सुनिश्चित गर्न गरेका कामहरूबारे जानकारी दिएका थिए । कार्यक्रममा स्वास्थ्य मन्त्री जयराम यादवले रंगेली अस्पतालका लागि आवश्यक डाक्टर र कर्मचारीको व्यवस्था गर्न पहल गर्ने बताउनु भयो । उहाँले रङ्गेलीका जनताले रङ्गेली अस्पताल अनुगमनमा नआएको गुनासो सही भएको भन्दै आफ्नो अधिकारको क्षेत्र नभएकाले अस्पतालको अनुगमनमा नआएको स्पष्ट पार्नुभयो । स्वास्थ्य मन्त्री यादवले भन्नुभयो ‘ हाम्रा लागि सबै अस्पताल समान भएपनि कानुनी रूपमा रङ्गेली अस्पताल स्थानीय तह मातहतको अस्पताल भएकाले प्रदेशको मन्त्रीले अनुगमन गर्नुको औचित्य हुँदैन ।’ मन्त्री यादवले शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार मौलिक अधिकारहरू पनि भएकाले जनताका यी अधिकार सुनिश्चित गर्न सरकार सँधै प्रयासरत रहेको बताउनु भयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा रङ्गेली नगरपालिकाका मेयर दिलीप बगडियाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न नगरपालिका एक्लैले नसक्ने भएकाले शिक्षक अभिभावकसमेत जागरूक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाले नगरका सबै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न योजनाबद्ध रूपमा प्रयासहरू गरिरहेको बताउनुभयो । मेयर बगडियाले भन्नुभयो,शैक्षिक गुणस्तर, विद्यालयको भौतिक पूर्वाधार सुधारलगायतका काम गर्न स्थानीय अभिभावकको सहयोगको जरूरी छ । उहाँले भन्नुभयो, शैक्षिक गुणस्तर कायम भएन भन्ने तर, विद्यालयका कम्प्युटर चोर्ने, विद्यालयमा गरिएका वाइङिका तारहरू चोर्ने विद्यालयका तोडफोड गर्ने जस्ता गतिविधिले विद्यालयको अवस्थामा सुधार आउँदैन । ’
मेयरले नगरका सबै स्वास्थ्य संस्थाको पूर्वाधार सुधारमा नगरपालिकाले ध्यान केन्द्रित गरेको जानकारी दिनु भयो । उहाँले रङ्गेलीको एकमात्र अस्पतालबाट सहज रुपमा सेवा उपलब्ध गराउन नगरपालिका प्रयत्नशील रहेको र नगरपालिकाले धेरै लगानी पनि गरेको बताउनुभयो । उहाँले रङ्गेली अस्पतालमा डाक्टर, नर्सलगायतका प्राविधिक कर्मचारीहरूको अभाव रहेकाले अस्पतालका लागि आवश्यक उपकरण, र जनशक्ति उपलब्ध गराइदिन प्रदेश र सङ्घीय सरकारसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख रविन्द्र पण्डित, स्वास्थ्य शाखा प्रमुख प्रवेश मेहेता, कृषि शाखा प्रमुख वीरेन्द्र मण्डल, पशु शाखा प्रमुख दीपक खतिवडा र योजना शाखा प्रमुख कृष्ण भट्टराईले नगरपालिकाले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सुनिश्चित गर्नका लागि नगरमा सञ्चालन गरेका कर्याक्रमहरू र प्रयासहरूबारे जानकारी गराएका थिए ।
कार्यक्रममा स्थानीय प्रवेश पन्नालाल मेहेता, कैलाशप्रसाद मण्डल, रामकुमार सरदार लगायतले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सुनिश्चित नभएको विषयमा प्रदेशका स्वास्थ्य मन्त्री र नगरापलिकाका प्रमुख तथा उपप्रमुखलाई विभिन्न प्रश्न गर्नु भएको थियो ।
कार्यक्रममा रङ्गेली नगरपालिकाका स्थानीले नगर, प्रमुख, उपप्रमुख र प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवलाई स्वास्थ्य, शिक्षा र खाद्य अधिकारका विषयमा विभिन्न जिज्ञासाहरू राखेको थिए । इन्सेकले विगत ३ वर्ष देखि रङ्गेली नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा बहस तथा पैरवी गर्दै आएको छ ।
















