INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा समस्या पहिचान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा हेटौँडा उपमहानगरपालिकास्तरीय मानव अधिकार समूहले असोज १४ गते हेटौँडामा नागरिकको मौलिक हक अन्तर्गतको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा समस्या पहिचान कार्यक्रम सम्पन्न गरेको छ ।

Photomakawanpur120780614 कार्यक्रममा मानव अधिकार प्रवर्धन र संरक्षणका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले हेटौँडा उपमहानगरपालिका भित्र देखिएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा समस्या पहिचान गरिएको छ ।

कार्यक्रममा इन्सेक बागमती प्रदेश कार्यलयकी फोकल पर्सन प्रतिक्षा खड्काले जनताको आधारभूत अधिकार प्राप्तिको लागि इन्सेकले अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

यस्तै मानव अधिकार समूहलाई पहिचान गरिएका समस्याहरू समाधानका लागि कार्ययोजना बनाएर अघि बढ्न आग्रह गर्दै इन्सेक बागमती प्रदेश कार्यालयले सहयोग पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का जनप्रतिनिधि रेनु गुरुङले मानव अधिकार समूहले उजागर गरेका समस्याहरू समाधानका लागि स्थानीय सरकार सँधै तयार रहेको र मानिसको सबैखाले अधिकारलाई सुनिश्चित गर्न इन्सेकसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

Photomakawanpur220780614

कार्यक्रममा मानव अधिकार समूहकी संयोजक चन्द्रावती पनेरुले चाडपर्व नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुहरूको मुल्य मनलाग्दी बढाएको, मुल्यवृद्धिको विषयमा स्थानीय प्रशासनले नियमित अनुगमन नगरेको, अस्पतालको फार्मेसीमा औषधीको अभाव, किसानले रसायनिक मल नपाएका, कोभिडको कारण सञ्चालित अनलाइन क्लास दुर्गम र विकट भेगका बालबालिकालाई प्रभावकारी नबनेको जस्ता समस्याहरू पहिचान गरिएको बताउनु भयो ।

साथै अस्पतालको सेवा सहजको लागि समूहले ज्ञापनपत्र बुझाए पनि त्यसको कार्यान्वयन नभएको भन्दै स्थानीय सरकारले मानिसको आधारभूत अधिकारको विषयमा विशेष चासो राख्नपर्नेमा उहाँले जोड दिनुभयो ।

अन्य

भिडियो