INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवाललाई नीति तथा कार्यक्रममा समेट्न अनुरोध

मानव अधिकार समूह पोखरा महानगरपालिका वडा नम्बर ३२ ले आगामी आर्थिक वर्ष २०७८/०७९ मा महानगरको नीति तथा कार्यक्रममा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानवअधिकार समूहका संयोजक सूर्य पौडेल , सहजकर्ता तिर्सना तिम्सिनाले असार २ गते कार्यवाहक वडाध्यक्ष धर्म बस्नेतलाई पत्र बुझाउदै शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी कार्यक्रमलाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्न अनुरोध गर्नुभएको हो ।

photo20210617Kaski

पत्रमा स्वास्थ्यसम्बन्धी कार्यक्रम अन्तरगत स्थानीय स्वास्थ्य चौकीमा सरकारद्वारा निःशुल्क वितरण गरिने सम्पूर्ण औषधिहरु निरन्तर उपलब्ध गरिनुपर्ने, प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुंचका साथै कोभिड महामारीका कारण सङ्क्रमितहरुको उपचार र सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि उचित व्यवस्था गर्न माग गरिएको छ ।

त्यस्तै शिक्षासम्बन्धी अधिकारमा नागरिकलाई आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिनु पर्ने, अपाङ्ग र आर्थिक रुपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हकको सुनिश्चितता,  आफ्नो मातृभाषामा शिक्षा पाउने हकलाई सुनिश्चितता, छात्राहरुको नियमित विद्यालय उपस्थितीको सुनिश्चितताका लागि सेनेटरी प्याडको निःशुल्क व्यवस्था, द्वन्द्वपीडित, जनआन्दोलनमा घाइते तथा शहिद परिवारका बाल बालिकाहरुकालागि उच्च शिक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था, कोभिड महामारीका कारण शिक्षण संस्थाहरु बन्द रहेकोले बालबालिकाहरुका लागि बैकल्पिक शिक्षा हासिल गर्ने अवसरको सुनिश्चितता जस्ता माग गरिएको छ ।

खाद्यसम्बन्धी अधिकार अन्तरगत प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभाव हुन नदिन, किसानहरुका लागि यथा समयमा नै निःशुल्क बिउ विजन तथा मलको उपलब्धताको सुनिश्चितता, स्थानीय तहमा कृषि उत्पादनलाई बृद्धि गरी आत्मनिर्भर बनाउन आवश्यक नीति निर्माण र दैनिक हातमुख जोर्न समस्यामा रहेका कोभिड सङ्क्रमितहरुका लागि आवश्यक राहतको व्यवस्था माग गरिएको छ ।

त्यस्तै आवासविहिन तथा भूमिहिनहरुका लागि आवासको व्यवस्था तथा जग्गा धनीपुर्जा उपलब्धताको सुनिश्चितताको माग गरिएको छ ।

पत्र बुझ्दै कार्यवाहक वडाध्यक्ष बस्नेतले पत्रमा उल्लेख गरिएका विषय नागरिक अधिकारका सवालमा महत्वपूर्ण रहेको बताउँदै वडाका तर्फबाट ती विषयलाई महानगरको नीति तथा कार्यक्रममा समेटिने गरी अगाडि बढाउने बताउनुभयो ।

अन्य

भिडियो