शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा स्थानीय सरकारले व्यवस्था गरेको प्रवाधान र कार्यन्वयनको अवस्था विषय अन्तरक्रिया कार्यक्रम ०७८ वैशाख ५ गते खाँडादेवी गाउँपालिकामा सम्पन्न भएको छ ।
इन्सेक र गाउँपालिकाको आयोजनामा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा, स्वास्थ्य, कृषि, पशुपन्छि, पूर्वाधार तथा योजना, भूमि सम्बन्धि समस्या समाधान गर्न बनेको आयोग, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, पञ्जिकरण, राजश्व, न्यायिक समिति र सूचना तथा प्रविधि शाखाले गरेका काम र प्रगतिको अवस्थाको बारेमा विषयगत शाखाका प्रमुखहरुले जानकारी गराउनुभएको थियो ।
जनप्रतिनिधिहरु, विषयगत शाखाका प्रमुख तथा नगारिक अगुवा समेतको सहभागिता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले अन्तरक्रियाले विषयगत शाखा र जनप्रतिनिधि बीचकै समन्वय र सहकार्यमा समेत सहयोग पुगेको बताउनुभयो ।
यसका साथै नागरिक स्तरबाट आएका सुझावलाई समेत समावेश गरी कार्यक्रम प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको धारणा थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दासले गाउँपालिकाले आफैँले गर्नुपर्ने कार्यक्रम इन्सेकले सहजिकरण गरेर गरिदिएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
खाँडादेवी गाउँपालिका–६ का वडाध्यक्ष पुष्कर कार्कीले अन्तरक्रियाले अहिलेको अवस्था र काम गर्दाको चुनौतीको बारेमा जानकारी भएको बताउनुभयो ।
सहभागीले आर्थिक वर्ष सकिन लागेकोले कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिनुभएको थियो ।
त्यस्तै विद्यालय सुधार कोषको रकमको उचित परिचालन, एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन, एक विद्यालय एक नर्स कार्यक्रम सबै विद्यालयमा लागु गर्न माग पनि सहभागीहरूले गर्नुभएको थियो ।