INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय पुनर्निर्माण कार्यलाई गतिदिन आग्रह

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) आबद्ध मानव अधिकार संरक्षण सञ्जाल रामेछापले विद्यालय पुनर्निर्माणको कामलाई गति दिन सम्बन्धित सरोकारवालाहरूको ध्यानाकार्षण गराएको छ ।

Photo20180523Ramechhap (1)

सञ्जालले जेठ ९ गते मन्थलीमा आयोजित अन्तरक्रियामा भूकम्पले क्षति पुर्‍याएका विद्यालयहरूको पुनर्निर्माणको कामलाई छिटो अघि बढाउन ध्यानाकर्षण गराएको हो ।

कार्यक्रममा पुनर्निर्माण प्राधिकरणको शिक्षा जिल्ला आयोजना इकाईका प्रमुख हेमन्त बुढाथोकीले रामेछाप जिल्लामा विद्यालय पुनर्निर्माणको क्रममा भएको प्रगतिको बारेमा जानकारी गराएका थिए । उनले जिल्लामा भूकम्पबाट ४ सय १९ ओटा विद्यालयमा क्षति भएको जानकारी दिए । ती मध्ये ९६ ओटा विद्यालयमा पुनर्निर्माणको प्रक्रिया नै सुरू नभएको उनले जानकारी दिए ।

Photo20180523Ramechhap (2)

भूकम्पले सबैभन्दा बढी क्षति भएका विद्यालयका निर्माणको काम भारत सरकारको सहयोगमा निर्माण गर्ने सम्झौता भएका १० ओटा विद्यालयको काम अझैसम्म पनि भारतीय दुतावासले सुरू नगरेको बताए ।

ती विद्यालयमा अन्य दातृ निकाय तथा नेपाल सरकारलाई पनि काम गर्न अनुमति नदिएको र भारतीय दुतावासले समेत काम अघि नबढाउँदा समस्या परेको उनले बताए ।

हालसम्म पाँच ओटा विद्यालय निर्माण गरी विद्यालयहरूलाई भवन हस्तान्तरण गरिसकिएको बुढाथोकीले जनाकारी दिए । केही विद्यालयहरू निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए ।

पहिलो चरणमा सिफारिश भएका विद्यालयमध्ये १० ओटाको काम नभए पनि अन्यको काममा धेरै प्रगति भएको उनले बताए । दोस्रो चरणमा सिफारिश भएका विद्यालयहरूको अन्तिम सर्भे भएको तर काम भने सुरू भइनसकेको उनले बताए ।

कार्यक्रममा सहभागी नागरिक अगुवाहरूले निर्माण सुरू नभएका र निर्माण सुरू भएर पनि कामले गति नलिएका विद्यालयको निर्माणको कामलाई अघि बढाउन राज्यका निकाय, नागरिक समाज र सरोकारवाला सबै जिम्मेवार भएर लाग्नु पर्ने बताए । यसका लागि नागरिकको पैरवी जरुरी रहेको सहभागीको भनाइ छ ।

नवराज पथिक

अन्य

भिडियो