अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले पुस १६ गते राजविराजमा वार्षिक पूर्व समीक्षा तथा मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम गरेको छ ।
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को प्रकाशन पूर्व सन् २०१७ मा सप्तरीमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन सार्वजनिक गर्दै पुस्तक पूर्व समीक्षा र जिल्लाको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम गरिएको हो ।
एक वर्षभित्र सप्तरीमा राज्यबाट पाँच र गैरराज्यबाट पाँच जनाको हत्या भएको उल्लेख गर्दै प्रतिवेदनले महिला बलात्कारका १४, बलात्कार प्रयासका आठ, यौन दुर्व्यवहारको एक घटनाका साथै नौ बालिका बलात्कार घटनाबाट, सात बालिका बलात्कार प्रयासको घटनाबाट पीडित भएको जनाएको छ ।
यो वर्ष जातिय छुवाछुतको एक, कथित बोक्सी आरोपको दुई, बहुविवाहको सात, नागरिक तथा राजनीतिक अधिकारका ११ तथा भौतिक संरचना एवम् सम्पति क्षतिका १६ गरी १ सय ३१ घटना सङ्कलित भएको इन्सेक सप्तरीले जनाएको छ ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नरबहादुर खडकाले इन्सेक प्रतिवेदनले समाजको अवस्थाको प्रतिबिम्व गरेकोले आआफ्नो ठाउँबाट मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन सजग रहनु पर्ने आवश्यकता औँल्याए ।
मानव अधिकार उल्लङ्घन नहोस् भनेर प्रहरी सचेत रहेको बताउँदै निमित्त एसपी ध्रुवकुमार श्रेष्ठले कानुनले प्रतिबन्ध गरेका कामकुरा हुन नदिने र भएमा कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाए ।
नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले अदालतले निर्णय नगरूञ्जेल सप्तरीमा भएका घटनाहरूमा प्रहरीले गोली प्रहार गरेको वा अमुक पार्टी तथा मधेसी मोर्चाले सम्पति क्षति गरेको किटान नगरी लेख्न सुझाव दिए ।




मनोहरकुमार पोखरेल