अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिकास्तरीय मानव अधिकार समूहको आयोजनामा वातावरणको अधिकारसम्बन्धी कार्यशाला गोष्ठी ०८० माघ १८ गते बेलौरी नगरपालिका वाड नम्बर २ को सभाहलमा सम्पन्न भएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले राष्ट्रिय वातावरण नीति २०७६ र त्यसको कार्यान्वयनको अवस्था तथा बेलौरी नगरपालिकाले जारी गरेको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७९ मा भएका व्यवस्था बारे प्रस्तुति गर्नुभएको थियो ।

मानव अधिकार समूह बेलौरीका उपाध्यक्ष पदमबहादुर शाहले बेलौरी नगरपालिका वडा नम्बर १० मा रहेको चिनीमिलबाट उत्पन्न हुने दुर्गन्ध तथा फोहोरले मानव स्वास्थ्यमा पारिरहेको असरका कारण गम्भीर समस्या उत्पन्न हुने संभावना रहेकोले स्थानीय तहले आवश्यक नीति निर्माण गरी नियमन गर्न आग्रह गर्नु भयो ।
तरकारीहरुमा प्रयोग भइरहेको बिषादि तथा अन्नबाली भण्डारण गर्दा प्रयोग गरिने बिषादीले दैनिक रुपमा उपभोक्ताहरुले मन्दबिष सेवन गरिरहेको बताउँदै नेपालको खेतीयोग्य जमीनमा यसै गरी रासायनीक मलको प्रयाग हुदै जाने हो भने आगामी १५ वर्षमा नेपाली माटोले कुनै पनी उत्पादन नदिने उहाँले बताउनु भयो ।
बेलौरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष कलबिर चौधरीले नगरपालिकामा हालसम्म पनी विपद व्यवस्थापन शाखा स्थापना नभएकोले कार्यसम्पादन गर्न समस्या भएको भए पनि वातावरण संरक्षणको लागि नगरपालिकाले नीति निर्माण गरेर काम गरिरहेको बताउनु भयो ।

नगरपालिका क्षेत्रमा स्थापना भएका उद्योग, कलकारखानाकै नजिक नागरिकहरुले आवास निर्माण गर्ने गरेका कारण समस्या उत्पन्न भइरहेको र नगरपालिकामा घरनक्सा पास गरेर घर निर्माण गर्नेको सङ्ख्या न्यून रहेकोले अनुगमन गर्न पनि समस्या भइरहेको उहाँले बताउनु भयो ।
बेलौरी नगरपालिका वडा नम्बर २ का सदस्य बिक्रम चौधरीले ईटा भट्टा लगायतका उद्योगहरु सञ्चालन गर्न अनुमति दिदा स्थलगत निरीक्षण गरेर मात्रै सञ्चालनका लागि अनुमति दिनु पर्ने बताउनु भयो ।
श्री लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक बिरेन्द्र भण्डारीले समुदायमा निर्माण भइरहेका सडकहरुमा माटो हालेर गाडीहरु हाकीरहेको तर निमार्ण गर्ने पक्षबाट पानी नहाल्दा धुलो उडेर श्वासप्रवाससँग सम्बन्धित रोगको संक्रमण भइरहेको र नदीनाला अतिक्रमण गर्ने क्रम बढेकोले वर्षायाममा डुबानको समस्या भइरहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको बताउनु भयो ।
मानव अधिकार समूह बेलौरीका अध्यक्ष गोबिन्दप्रसाद सापकोटाले प्रत्येक नागरिकको घरबाट निस्किने फोहोरहरुलाई कुहिने र नकुहिने गरी छुट्याएर व्यवस्थापन गर्न सकेमात्रै वातावरणलाई स्वच्छ बनाउन केहीहदसम्म सहयोग हुने भएकोले नागरिकहरुले पनि अधिकारसँगै कतब्र्यको पनि पालना गर्न आवश्यक भएको बताउनु भयो ।
