INSEC Online

📅 २०८३ जेष्ठ २१

वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न

3Photo20800124

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको सहयोगमा वैशाख २२ गते शम्भुनाथ नगरपालिका–७ कठौनास्थित वडा कार्यालयमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले वातावरण विनाशको असर साझा विषय भएकोले मानव अधिकार रक्षकहरूले नीतिगत तहमा पैरवी गर्न आवश्यक रहेको बताउनु भयो । अन्तर्राष्ट्रिय सन्धि सम्झौता, दिगो विकासका लक्ष्यलगायतका प्रतिबद्धतालाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्दै लैजान राज्य गम्भीर बन्नु पर्ने र सम्बन्धित सबैजना जिम्मेवार बन्नु पर्ने पासवानले बताउनु भयो ।

माध्यमिक विद्यालय कचन्दाहाका प्रधानाध्यापक उमेश प्रसाद भगतले वातावरणको संरक्षण, बचाउ र सुधार वर्तमान र भावी पुस्ताका लागि अनिवार्य र पहिलो शर्त भएको बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलले वातावरण र विकासलाई सन्तुलित ढङ्गले अगाडि बढाए मात्र जीवन र पृथ्वीको सुरक्षा गर्न सकिने बताउनु भयो ।

कार्यक्रम संयोजक बरुण बस्यालले स्वच्छ वातावरणमा बाँच्न पाउने मानव अधिकारलाई संरक्षण गर्ने तर्फ एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।

मधेस प्रदेशस्तरीय मानवअधिकार समूहका सचिव दिनेश कुशवाहा र कोषाध्यक्ष शंकरकुमार साहले मानव जीवनलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पारिरहेको वातावरणको संरक्षण, बचाउ र सुधार तर्फ जवाफदेही बन्नुपर्ने बताउनु भयो ।

शिक्षकहरू माध्यमिक विद्यालय कचन्हादाका महाविरलाल कर्ण र अशोकुमार साह, माध्यमिक विद्यालय रामपुर जमुवाका महेश्वरप्रसाद चौधरी र देवकान्त मण्डललगायतकाले प्लाष्टिक प्रयोग निषेध गर्नुपर्ने, फोहोर गर्नेलाई सजाय दिनुपर्ने, सुधारिएको चुलोको प्रयोग हुनुपर्ने, वृक्षारोपण र वातावरण संरक्षण सम्बन्धी चेतनमूलक कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।

कार्यशालामा कायापलट अभियान संयोजक शुभम झा, क्रियटिभ टिम प्रमुख रिसभकुमारले प्लाष्टिकले जीवनमा पारेको प्रभाव र भविष्यमा आउने सङ्कटका बारेमा जानकारी गराउनु भयो ।

शम्भुनाथ नगर स्तरीय मानव अधिकार समूह र बालअधिकार सचेतना समूहको आयोजनामा भएको कार्यक्रममा समूहमा समेत गरी ३५ जनाको सहभागिता रहेको थियो ।

Photo20800124

 

अन्य

भिडियो