अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधि सुमित्रा आचार्यको अगुवाईमा ०८३ साउन १ गते नेपाल सरकारका प्रधानमन्त्रीलाई रोम विधान अनुमोदनको आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाइएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा संसारभर अन्तर्राष्ट्रिय न्याय दिवस मनाउने गरिन्छ । विगतमा भएका मानवअधिकारको गम्भीर उल्लङ्घनका घटनामा न्याय प्राप्त गर्न भएका प्रयास र अब गर्नुपर्ने कामका बारेमा पनि यो दिन छलफल गर्ने गरिन्छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान संसारका १ सय २३ राष्ट्रले अनुमोदन गरिसकेका छन् । नेपाल हालसम्म अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधानको पक्ष राष्ट्र भएको छैन । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई ज्ञापनपत्र बुझाउनका लागि मानवअधिकार सञ्जाल, गैसस महासंघ, महिला मानवअधिकार रक्षक सञ्जालका प्रतिनीधि र पत्रकारहरुको सहभागिता थियो । ज्ञापनपत्र गृहमन्त्रालयमार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाइएको छ ।