अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र रूपा गाउँपालिकाको संयुक्त आयोजनामा वडा नम्बर ५ स्थित देउरालीमा किशोरी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा रूपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले सचेतना कार्यक्रमले किशोरीहरुलाई घर, विद्यालय र समाज सक्षम बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले गाउँपालिकाका सबै वडामा किशोरी सचेतना कार्यक्रम संचालन गरिने बताउनुभयो ।
‘सामाजिक विभेद र यौन जन्य हिंसाका घटना बारे सचेत गराउनुका साथै कानूनी ज्ञान समेत दिन यस्ता कार्यक्रम आवश्यक छ।’गुरुङले भन्नुभयो,‘हिंसालाई रोक्न प्रयासरत छौं तर पनि कहिलेकाहीँ हिंसामा परिहाले के गर्ने भन्ने बारेमा थाहा नहुन सक्छ, त्यसकारण कार्यक्रम गरिएको हो’ ।
वडा नम्बर ५ का अध्यक्ष टेक बहादुर गुरुङले सचेतना कार्यक्रमले किशोरीहरुलाई शारीरिक र मानसिक रुपमा सक्षम बन्न सहयोग गर्ने बताउनुभयो ।
उहाँले इन्सेकद्वारा गठन गरिएको मानव अधिकार समूहलाई मानव अधिकारका विषयसँग जोडिएका कार्यक्रम र अभियानमा गाउँपालिकाले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नभयो ।
इन्सेक कार्यक्रम अधिकृत सवनम शर्माले किशोरी सचेतना अन्तरगत मानव बेचबिखन, यौन जन्य हिंसा, बलात्कार जस्ता हिंसाबाट किशोरीहरुमा पर्ने असर र त्यसको न्यूनिकरणका बारेमा सहजीकरण गर्नुभएको थियो ।
गाउँपालिका स्तरीय महिला सञ्जालकी सचिव सविता श्रेष्ठले किशोरीहरुलाई मात्रै नभइ अभिभावकहरुलाई पनि समग्र मानव अधिकारका विषयमा सचेत गराउनुपर्ने भनाइ राख्नुभयो । विश्वशान्ति माविका प्रधानाध्यापक हरिराज घिमिरले यस्ता कार्यक्रम समाजको लागि उधारणीय रहेको भन्नुभयो ।कार्यक्रममा वडा भित्र रहेका विभिन्न विद्यालयका विद्यार्थी, महिला समूह, शिक्षक लगायतको उपस्थिती रहेको थियो ।


