अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकार समूहको स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक ०८० असोज १६ गते सम्पन्न भएको छ ।

उक्त बैठकबाट राक्सिराङ गाउँपालिकामा रहेका समस्याहरूको बारेमा पहिचान गरिएको छ । जस अन्तर्गत शिक्षा क्षेत्रमा देखिएका समस्यामा विद्यालय परिसरभित्र सरसफाइको अभाव भएको, साथै बालमैत्री प्रविधिको अभाव रहेको, बालबालिका मैत्री र किशोरीमैत्री संरचना नभएको, विद्यार्थीहरू दुर्व्यसनमा फसेको तथा विद्यालयमा सञ्चालित खाजा कार्यक्रमको गुणस्तर केकस्तो छ भन्ने विषयमा अनुगमन नभएको लगायतका समस्या बैठकबाट पहिचान गरिएको छ ।

राक्सिराङ गाउँपालिकामा यसैगरी समाजमा भएका बालिका तथा महिलाहरू बढी हिंसामा पर्ने गरेको, हिंसामा परेका बालिका र महिलालाई न्याय पाउन गाह्रो हुने गरेको, हिंसा न्यूनीकरणका लागि पर्याप्त सचेतना नभएको जस्ता समस्या पहिचान गरिएको मानव अधिकार समूहको संयोजक चन्द्रमान प्रजाले जानकारी दिनुभयो । उहाँले स्थानीय तहमा सबै महिलाहरूलाई सीपमुलक तालिम अभाव भएको बताउनु भयो ।
विद्यालयमा छात्राहरूलाई गुणस्तरीय सेनेटरी प्याड उपलब्ध गराउन नसकेको जिल्ला सहजकर्ता सलिना गौतमले बताउनु भयो । उहाँले उक्त बैठकमा स्थानीय क्षेत्रमा बिजुलीको नाङ्गो तार जथाभावी पाइएको र त्यसलाई स्थानीय सरकारले कुनै पनि व्यवस्थापन गर्न नसकेको उल्लेख गर्नुभयो ।
यस्तै स्थानीय तहमा फोहोर मैला मिश्रित गरी फाल्नाले व्यवस्थापनमा समस्या रहेको मानव अधिकार समूहको सचिव सुजता दमाईले बताउनु भयो । उक्त बैठकमा राक्सिराङ गाउँपालिकाको मानव अधिकार समूहको सहभागिता रहेको थियो ।
